वनरक्षक शाहीको स्मृति दिवस मनाइयो

मंगलबार, १८ पुस २०७४, १० : ०७
वनरक्षक शाहीको स्मृति दिवस मनाइयो

एक वर्षअघि ताप्लेजुङको खोक्लिङस्थित कार्य क्षेत्रमा नै हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीको सम्झनामा ताप्लेजुङमा वार्षिक स्मृति दिवस मनाइएको छ ।

ताप्लेजुङस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आयोजनामा सोमबार सदरमुकाम फुङलिङमा स्मृति समारोहको आयोजना भएको थियो । उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले स्व शाहीको तस्वीरमा माल्यार्पण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रजिअ जिसीले शाहीले आफ्नो जिम्मेवारीप्रति देखाएको लगावलाई भुल्न नहुने धारणा व्यक्त गरे । शाहीले देखाएको साहसलाई आत्मसात् गर्दै अन्य कर्मचारीले कत्ति पनि विचलित नभई राष्ट्रको सेवा गर्नुपर्ने उनले भनाइ थियो । कार्यक्रममा निजामती कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

जाजरकोटको दसेरा घर भई इलाका वन कार्यालय, खोक्लिङमा कार्यरत रहनुभएका वनरक्षक शाहीको २०७३ पुस १७ गते कार्य क्षेत्रमा खटिएकै अवस्थामा वीभत्स हत्या भएको थियो ।

निजी र सामुदायिक वनको सिमानाका विषयमा भएको विवादले उग्ररुप लिएपछि आक्रोशित बनेका  विन लिम्बू भनिने टेकप्रसाद लिम्बूले घाँटी रेटेर शाहीको हत्या गरेका थिए । हत्यामा संलग्न लिम्बू यहाँस्थित जिल्ला कारागारमा रहेका छन् ।(रासस)

प्रतिक्रिया दिनुहोस