वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १६ : ३६
वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छ : प्रधानन्यायाधीश राउत

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रधानन्यायाधीश राउतले ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्न जरुरी रहेको बताए । उनले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गरे । उनले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताए ।

उनले भने, ‘यदि वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवर्द्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानुनको पालना गराउने र कानुनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरू कमजोर बन्दै गएको बताए । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिबद्धता पनि कमजोर रहेको उनको जिकिर छ ।

यस्तो खालि अवस्थालाई बदनियत राख्नेहरूले प्रयोग गर्नसक्ने खतरा रहेको उनको भनाइ छ ।  कानुनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उनले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहासबाट सिक्न सकिने बताए ।

नेपाल कानुन पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम सुरु हुनु खुसीको कुरा भएको बताए ।  

प्रतिक्रिया दिनुहोस