नेपाली मौलिकताबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने

मंगलबार, १८ पुस २०७४, ०९ : १२
नेपाली मौलिकताबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने

काठमाडौँ ।  वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकको राष्ट्रिय पोशाकका रुपमा पुरुषका लागि दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीको महत्व रहेको बताउनुभएको छ ।

श्रद्धावान् नेपालले प्रस्तावित गरेको पाँचौँ राष्ट्रिय पोशाक दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले लामो समय अघिदेखि ती पोशाकको प्रचलन देशमा रहेको इतिहास पाइने बताउँदै सबै जाति समुदायका फरक वेशभूषा रहेको भएपनि राष्ट्रिय पोशाकले सबैलाई एकताबद्ध गर्ने बताउनुभयो । जोशीले नेपाली मौलिकता तथा संस्कृतिकाबारे नयाँ पुस्तालाई सिकाउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सार्वभौम सम्पन्न मुलुकको राष्ट्रिय पोशाक हुनुपर्ने बताउँदै कुन चाँहि पोशाकलाई बनाउने भन्नेबारेमा सरकारले विज्ञको धारणा बुझेर नीतिगत निर्णय गर्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेसका नेता डा रामशरण महतले दौरा, सुरुवाल र टोपी तथा महिलाका लागि गुन्यु, चोली र सारीलाई राष्ट्रिय पोशाकका रुपमा पुनःस्थापित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) का नेता लालबाबु पण्डितले ती पोशाकलाई कुनै पनि जातिसँग जोडेर राजनीतिक मुद्दा बनाउन नहुने भन्दै आफूले औपचारिक कार्यक्रममा ती लुगा लगाउने गरेको जानकारी दिनुभयो ।

पूर्व प्रधानसेनापति रुक्मांगत कट्ुवालले देशको इतिहास र सभ्यतालाई संरक्षण गरेर मात्र देशको अस्तित्व र नागरिकको समृद्धि कायम हुन सक्ने बताउनुभयो ।

श्रद्धावान् नेपालका अध्यक्ष राजनन्द माण्डव्य र कार्यक्रमका संयोजक श्याम बजगाईले विसं २०७० मा काभ्रेबाट शुरु गरिएको सो अभियान अहिले १६ जिल्लामा पुगेको जानकारी गराउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस