काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले खाद्यपदार्थमा विषादी औषधिको प्रयोगसम्बन्धीमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले आम नागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, “विषादी मिसिएको तरकारी र फलफूलले आम जनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्याङ्कले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।”
खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लङ्घन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे ।
सांसद उदयबहादुर बोहराले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सल्यानको श्रीनगरमा आयोजना गरेको ‘दोस्रो सल्यान महोत्सव’ हुने क्रममा गत माघ २६ गते ११ बजे आगलागी हुँदा स्टलहरु जलेर करोडौँको क्षति भएको घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरी व्यापारीलाई क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने माग गरे ।
सांसद गोमादेवी तिमिल्सिनाले पशुपति विकास कोषमा कार्यरत ३७ जना मजदुर विगत लामो समयदेखि आन्दोलित भएको भन्दै उनीहरूको माग सम्बोधनको निम्ति सरकारसँग माग गरिन् । उनले भनिन्, “गत पुस १ गतेदेखि ३७ जना मजदुरहरू आन्दोलित छन्, ती मजदुरका बारेमा के भइरहेको छ, त्यसको सम्बन्धित निकायले जानकारी दिनुपर्छ ।” उनले हेटौँडाको औद्योगिक क्षेत्रभित्र काम गर्ने क्रममा एकजना मजदुर विद्युत्का कारण घाइते भएको उल्लेख गर्दै घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ फागुन २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सभा बैठक बस्दै, मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने
विपिनको रिहाइमा पहल गर्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह
दलितले अधिकार संविधानमा पाए, व्यवहारमा पाएनन् : सांसद परियार
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस
राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभा अधिवेशन पनि आजदेखि प्रारम्भ