पोखरामा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने

सफल खबर संवाददाता

शुक्रबार, ०२ फागुन २०८१, ११ : १९
पोखरामा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने

पोखरा । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा प्राप्तिसमेत गरिसकेको थियो ।

संघीय सरकारले  सातै प्रादेशिक आयुर्वेदिक चिकित्सालय बनाउने नीति लिएपछि गण्डकी प्रदेश सरकारले आफूले बनाउने भनेको अस्पताललाई नै एक सय बेडको बनाउनका लागि पत्राचार गरेको हो ।

पोखरा–२६ को चापाकोचौर भन्ने स्थानमा बन्न लागेको प्रादेशिकस्तरको आयुर्वेद चिकित्सालयका कारण स्थानीयमा खुसीसमेत छाएको वडाध्यक्ष नरेन्द्र थापाले बताए । संघीय सरकारले यो वर्ष आयुर्वेद चिकित्सालय निर्माणका लागि चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ विनियोजन भएको छ भने कुल लागत ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।

चिकित्सालयका लागि २५ रोपनी जग्गा उपलब्ध भइसकेको, र थप १० रोपनी जग्गाका लागि स्थानीयसँग सुनिश्चितता गरिएको पनि वडाध्यक्ष थापाले जानकारी दिए ।चिकित्सालय निर्माण स्थलको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले निरीक्षण गरेका छन् । सुविधा सम्पन्न १ सय बेडको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार गरी टेन्डर प्रक्रियाअगाडि बढाउन लागेको स्वास्थ्यमन्त्री पौडेलले जानकारी दिए ।

चिकित्सालय निर्माणका लागि आवश्यक सबैखाले तयारी र प्रक्रिया पूरा भएको पौडेलको भनाइ छ । ‘१० करोड रुपैयाँ अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेलगत्तै सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको बोलपत्र आह्वान हुन्छ,’ स्वास्थ्यमन्त्री पौडेलले भने ।

संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो ।शिक्षाविद् रवि बरालले ३ दशकअगाडि सुकुम्बासीका नाउँमा अतिक्रमण हुन लागेको जग्गालाई स्थानीयले जोगाएर राखेको उल्लेख गर्दै चिकित्सालय निर्माणको कार्यलाई शिघ्रता दिन मन्त्री पौडेललाई आग्रह गरे ।

स्थानीय कुलदीप बरालले चिकित्सालय निर्माणका लागि ३५ रोपनी जग्गा व्यवस्थापन गरिएको उल्लेख गर्दै, कहि कतै अवरोध नभएकाले चाँडो प्रक्रियाअगाडि बढाइदिन आग्रह गरे ।

चिकित्सालयमा शिरोधारा, साउना बाथ, स्टिम बाथ, ज्याकुजी, अंकुपंचर, नेचुरोप्याथिक, योग लगायतका सेवा उपलब्ध हुने गण्डकी आयुर्वेद अस्पतालका प्रमुख डा. शंकर गौतमले जानकारी दिए ।

पञ्चकर्म सेवाका लागि भीआईपी डिलक्स, र डिलक्स गरी  ५ वटा भिल्ला तयार गरिने समेत डा. गौतमले बताए । डिलक्स पछि क्याविन र साधारण शय्या गरेर एकसय पुर्‍याइने र आवासीय रुपमा समेत उपचार सेवा उपलब्ध गराउने उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस