चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने

सफल खबर संवाददाता

शुक्रबार, २५ माघ २०८१, १३ : ४६
चलचित्र विकास बोर्ड मधेसमा पटकथा लेखन सिकाउने

काठमाडौँ । चलचित्र विकास बोर्डले फागुन १३ देखि १५ गतेसम्म मधेसमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । मधेस प्रदेशको राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० युवाहरूको सहभागिता रहनेछ ।

समावेशी सिद्धान्तका आधारमा मधेस प्रदेशका ८ जिल्लाबाट प्रशिक्षार्थीहरूको छनोटका लागि बोर्डले बिहीबार सातदिने आवेदन आह्वान गरेको छ । बोर्डको वेभसाइटबाट भर्न सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखन सम्बन्धी सैद्धान्तिक एवं व्यवहारिक ज्ञान सीप प्रदान गरी मधेसको मौलिक एवं यथार्थपरक कथा फिल्ममा उजार गर्न तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष दिनेश डिसीले बताए ।

अध्यक्ष डिसीका अनुसार मधेसको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा मधेसका चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित यस वर्ष बोर्डले मधेसमा चलचित्र सम्बन्धी विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

यसै अभियान अन्तर्गत पटकथा लेखन तालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीले जानकारी दिए ।तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीका अनुसार तालिमकै क्रममा प्रशिक्षार्थीहरूबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस