माओवादीद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, १६ : २०
माओवादीद्वारा कर्णाली प्रदेशसभा अवरुद्ध

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले कर्णाली प्रदेशसभा अवरुद्ध गरेको छ ।  माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री भएका बेला ल्याएको वार्षिक १० हजारलाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ अलपत्र पारेको भन्दै संसद् अवरोध गरेको हो ।

बैठक सुरु भए लगत्तै दल नेता शर्माले बोल्दै भने–  ‘कर्णालीका नागरिकलाई रोजगारी दिने, गरिबी निवारणका लागि हामीले उक्त परियोजना यही संसदबाट पारित गरेका हौँ। तर अहिलेको सरकारले लात हान्दै कार्यक्रम रोक्यो ।’

सरकारले मनपरी गरेर कर्णालीका नागरिकमाथि अन्याय गरिरहेको र उक्त कार्यक्रम अगाडि नबढाएसम्म संसद् चल्न नदिने उनले बताए ।  प्रदेश सरकार कर्णालीको गरिबी निवारण गर्न अग्रसर नभएको भन्दै उक्त कार्यक्रम अगाडि बढाइनुपर्ने, त्यसो नगरे संसद् अवरोध कायम रहने शर्माले बताए ।

उक्त कार्यक्रम कार्यान्वयन गर्नेबारे मुख्यमन्त्री यामलाल कँडेलले सम्झौता समेत गरेका थिए । तत्कालीन अवस्थामा एमाले–माओवादी गठबन्धन हुँदा कँडेलले कार्यक्रमलाई अगाडि बढाउने सहमति गरेका थिए ।

यद्यपि लगत्तै गठबन्धन परिवर्तन भएर माओवादी प्रतिपक्षमा पुगेपछि  कार्यक्रम कार्यान्वयनमा कँडेलले बेवास्ता गरेका थिए । प्रतिपक्ष सभा सञ्चालनका लागि तयार नभएपछि उपसभामुख यशोदा न्यौपानेले आधा घण्टाका लागि बैठक स्थगित गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस