इलाममा एफएमको नियमित प्रसारण शुरु

सोमबार, १७ पुस २०७४, १४ : ०७
इलाममा एफएमको नियमित प्रसारण शुरु

इलाम । इलामको पूर्वी सूर्योदय नगरपालिकामा स्थापना भएको रेडियो बुद्धवाणी एफएमले आफ्नो नियमित प्रसारण शुरू गरेको छ । सो एफएमको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहाल र सूर्योदय नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले संयुक्तरूपमा आइतबार शुभारम्भ गरे ।

सूर्योदय सञ्चार विकास केन्द्रद्वारा उक्त रेडियोले गत पुस ११ गतेबाट परीक्षण प्रसारण शुरू गरेको थियो । सूर्योदय नगरपालिका क्षेत्रमा रहेर लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान गरिरहेका पत्रकार दिनेशकुमार महतले रु ४० लाखको लागतमा रेडियो सञ्चालनमा ल्याएका हुन। ९५ ७ मेगाहर्जमा प्रसारण भइरहेको उक्त एफएम रेडियोको प्रसारण इलाम, पाँचथर, झापा, इटहरीसम्म सुन्न सकिने बताइएको छ ।

कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, पत्रकार प्रभाकर प्रधान, धर्म गौतम, रोहितचन्द्र भट्टराई, कलाकार कुबेर राई, पुजन प्रधानलगायतले रेडियोले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विचार व्यक्त गरे ।

बुद्धवाणी एफएमसँगै इलाममा एफएम रेडियोको संख्या पाँच पुगेको छ । यसअघि इलाम एफएम, नेपालवाणी एफएम, रेडियो फिक्कल र चियाबारी एफएम सञ्चालनमा छन् ।९रासस०

प्रतिक्रिया दिनुहोस