मेलम्ची । सिन्धुपाल्चोक जिल्लाबाट विभिन्न मुद्दामा फरार रहेका ४६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला तथा विभिन्न जिल्लाका अदालतबाट सजाय फैसला सुनाइ फरार रहेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
चालु आर्थिक वर्ष ०७४/०७५ शुरु भएदेखि हालसम्ममा ४६ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।
इलाका प्रहरी कार्यालय मेलम्चीले १८, इप्रका बाह्रबिसेले पाँच र इप्रका जलबिरे, नवलपुर तथा जिल्ला प्रहरी कार्यालय गरी जम्मा ४६ जना पक्राउ गरिएको पोखरेलले जानकारी दिए ।
गत आव ०७३/०७४ मा जिल्लाभरिबाट जम्मा २५ जना फरार अभियुक्त पक्राउ गरिएको थियो । बहुविवाह मुद्दामा १६ वर्षदेखि फरार रहेका मेलम्ची नगरपालिका– १२ का गोकुल भट्टराईसहित चालु आवमा जिल्लाकै सबैभन्दा बढी १८ जना फरार अभियुक्त पक्राउ गरिएको छ ।
अदातलबाट फैसला हुन बाँकी तथा विभिन्न अपराधमा संलग्न रहेका दर्जनौँलाई प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरी कानूनी दायरामा ल्याएको छ । नागरिकता, राहदानी तथा सरकारी छाप कीर्ते मुद्दामा १० वर्षदेखि फरार मेलम्चीका कुमार पाण्डे तथा नागरिकता मुद्दाका अर्का फरार अभियुक्त मेलम्चीका वाङदोर्जे लामालाई समेत मेलम्ची प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
मेलम्चीका स्थानीय शेरबहादुर माझीले प्रहरीको सक्रियताले फरार अभियुक्त पक्राउ पर्नुका साथै प्रहरीले जनतामा सुरक्षाको प्रत्याभूति दिलाउनसक्ने अवस्था सिर्जना भएको बताए । सिन्धुपाल्चोकमा मानव बेचबिखन, बहुबिवाह, सवारी ज्यान, कीर्ते नागरिकता तथा सार्वजनिक अपराधका कार्यमा बढी संलग्नता हुने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । (रासस)
प्रतिक्रिया दिनुहोस