नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् ।
दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताए । ‘व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो’, उनले भने, ‘प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।’
पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ केजी बीउ लगाइएकोमा रोपेर बाँकी रहेको बेच्दा ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उनले बताए ।
‘समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ’, अध्यक्ष बरालले भने, ‘बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।’
प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताए । उत्पादन लागत पाँच लाख रहेकामा यसबाट कम्तीमा सात लाख बचत हुने उनको भनाइ छ । यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ ।
सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताए । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ पुस २०८१, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्याजको भाउ महँगियो
आलु, प्याज र स्याउको मूल्य घट्ने
गर्मीमा काँचो प्याज खादा फाइदा नै फाइदा
भारतको ‘प्याज कूटनीति’, प्रतिबन्धबिच पनि हजारौँ टन निर्यात
भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध
सस्तिन थाल्यो प्याजको मूल्य