पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित पूर्वाञ्चलमा मानवअधिकारको अवस्था सार्वजनिकीकरण कार्यक्रममा जनवरी १ देखि डिसेम्बर महिना (२०७३ साल पुस १७ देखि २०७४ पुस १० गते)सम्ममा उक्त हत्या भएको तथ्याङक प्रस्तुत गरिएको छ ।
उक्त अवधिमा गैरराज्यपक्षबाट २५ महिला र २९ पुरुष गरी ५४ जनाको हत्या भएको छ भने राज्यपक्षबाट ६ जना पुरुषको हत्या भएको जनाएको छ ।
एक वर्षको अवधिमा मानवअधिकार हनन र ज्यादतीका एक हजार ५९ जना पीडित भएको छ । तीमध्ये राज्यपक्षबाट ५३ पुरुष र तीन महिला गरी ५६ जना र गैरराज्यपक्षबाट ८३८ महिला र १०८ पुरुष गरी एक हजार तीनजना पीडित भएको प्रस्तुत तथ्याङकमा उल्लेख छ ।
यस्तै सो अवधिमा बलात्कारको घटनामा १०१ महिला पीडित भएका छन् भने बलात्कारको प्रयासबाट ५४, यौनजन्य दुव्र्यवहारबाट २८, बहुविवाहमा ६८, मानव बेचबिखनमा २०, बोक्सीको आरोपमा अमानवीय व्यवहारवाट पाँच र घरेलु हिंसाबाट २६७ जना महिला पीडित भएको उल्लेख छ ।
सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलका निर्देशक मञ्जु खतिवडाले मानवअधिकारको उल्लंघनको घटना वृद्धि हुनु चिन्ताको विषय भएको बताउँदै यसलाई न्यूनीकरण गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले राज्यले स्रोत र साधनको अधिकतम प्रयोग गरी मानवअधिकार संरक्षणका लागि कार्य गरिरहेको चर्चा गर्दै वर्तमान संविधान मानवअधिकार मैत्री रहेको धारणा व्यक्त गरे ।
इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेल र इन्सेक मोरङका प्रतिनिधि इन्दिरा भट्टराईले पूर्वाञ्चलमा मानवअधिकार उल्लंघनका भएका घटनाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस