जनयुद्ध शब्दमा अंकुश लगाउने बिरोधमा वाइसिएलले निकाल्यो मसाल जुलुस

सफल खबर संवाददाता

सोमबार, ०८ पुस २०८१, ०९ : १४
जनयुद्ध शब्दमा अंकुश लगाउने बिरोधमा वाइसिएलले निकाल्यो मसाल जुलुस

चितवन । चितवनमा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालले राके जुलुस निकालेको छ । जनयुद्ध शब्दमा अंकुश लगाउने प्रयासको बिरोधमा वाइसिएल नेपालले भरतपुर २६ मा मसाल जुलुस निकालेका हुन् ।

मसाल जुलुससगैँ वाइसिएलले जनयुद्ध जिन्दाबाद, जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरु होसियार, दलाल भ्रष्टहरु होसियार, वाइसिएल नेपाल जिन्दाबाद, नेकपा(माओबादी केन्द्र)जिन्दाबाद, वीर सहिद लाल सलाम लगायतका नाराहरु लगाएका थिए ।

वाइसिएल भरतपुर–२६ को अयोजनामा लाहुरेचोकबाट ज्योतिनगर बजारसम्म मसल जुलुस प्रदर्शन गरेका हुन् । वाइसिएल नेपालका जिल्ला सह–सचिव विशाल शाही , वाइसियल महानगर सचिव मौसम अधिकारी,वाइसियल वडा इन्चार्ज बिनय दाहाल र वडा अध्यक्ष मोतिलाल गौतम लगायतका वाइसिएलका नेताहरुको उपस्थितिमा सयौँको संख्यामा वाइसिएलले मसाल जुलुस प्रदर्शन गरेका थिए ।

सो अवसरमा वाइसिएल जिल्ला सह–सचिव विशाल शाहीले जनयुद्धबाट प्राप्त उपलब्धीमा रजगज गर्ने र त्यही जनयुद्ध माथी प्रहार गर्नेहरुलाई तह लगाउने तागत वाइसिएल नेपालमा रहेको बताए । आजको मसाल जुलुस बेतिथि विरुद्धको रहेको बताउँदैँ शाहीले भ्रष्ट दलालहरुलाई होसियार रहन चेतावनी समेत दिए । भ्रष्ट दलालहरुविरुद्ध वाइसिएल नेपाल फेरी जागेको बताए ।

सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि माओवादी घटक पार्टीहरुले विरोध जनाउँदै आएका छन् । सर्वोच्चको संवैधानिक इजलासले गत २६ मंसिरमा जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गर्दै सरकारलाई लिखित जवाफ पेस गर्न आदेश जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस