मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

सफल खबर संवाददाता

मंगलबार, ०२ पुस २०८१, १० : २४
मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा । झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरिएको छ ।

कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे ।

उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँगको सहकार्यमा स्वास्थ्य शिविरसहित विविध कार्यक्रमार्फत अभियान सञ्चालन गरिरहेको बताए ।

मेचीनगर नगरपालिकाले आगामी १५ दिनभित्रमा नगरका १५ वटै वडामा शिविर सञ्चालन गरी अपाङ्गता भएकाहरूलाई परिचयपत्र वितरण गर्ने जनाएको छ ।

प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मी र कर्मचारीको टोली खटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।

शारीरिक अशक्त भएका व्यक्तिलाई वडा तथा नगरपालिका धाउने झञ्झट नहोस् भनेर वडातहमा शिविरको आयोजना गरिएको भन्दै यसबाट लक्षितवर्ग लाभान्वित हुने नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले विश्वास व्यक्त गरे ।

अपाङ्गता भएका व्यक्तिहरूको पहिचान र बृहत्तर हितका लागि विशेष कार्यक्रम सञ्चालन गर्न मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकार र करुणा फाउन्डेसनबीच एक करोड ४२ लाख रुपैयाँ सहयोगको त्रिपक्षीय सम्झौता भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस