काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समानता र सबै अल्पसङ्ख्यक समूहको अधिकार सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई मंगलबार सम्बोधन गर्दै उनले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले अनुशरण आवश्यक रहेको बताएकी हुन् ।
जहाँ पितृसत्ता बढी बहिष्करणमुखी र शक्तिकेन्द्रित हुन्छ त्यहाँ समानताको सिद्धान्तले काम गर्छ भन्दै परराष्ट्रमन्त्री देउवाले समानताका अन्य नीतिजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अंगाल्ने धारणा राखिन् ।
‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरूलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रूपमा व्यवहार गर्दछ’, मन्त्री देउवाले भनिन्।
यो नीतिले आपसी समझदारी र समभावको मान्यतामा रहेर लैङ्गिक तथा यौनिक लगायत अन्य अल्पसङ्ख्यकहरूको अधिकार र चासोलाई पनि सुरक्षित गर्न सहयोग गर्ने मन्त्री देउवाको भनाइ छ ।
विभेद र अन्यायको अन्त्य गर्न सतही परिवर्तनले मात्र पर्याप्त नहुने भन्दै सामाजिक मूल्य र मान्यताहरूमा आधारित रूपान्तरण गर्नका लागि नीतिमा समानता आवश्यक रहेकोमा उनको जोड छ ।
उक्त सम्मेलनको ‘राष्ट्रिय कानून र नीतिहरूमा समावेशिता’ विषयक अर्को प्यानललाई सम्बोधन गर्दै मन्त्री देउवाले नेपालले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजीबीटीक्युआई) व्यक्तिहरूको समावेशीकरण र अधिकारका पक्षमा धेरै उपलब्धि हासिल गरेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ पुस २०८१, १५ : ४९
लेखकबाट थप