शिक्षक बेखुसी नहुने गरी ऐन बनाउनुपर्छ : देवेन्द्र पौडेल

सफल खबर संवाददाता

सोमबार, २४ मंसिर २०८१, १५ : ०४
शिक्षक बेखुसी नहुने गरी ऐन बनाउनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकहरू बेखुसी नहुने गरी ऐन बनाउनुपर्ने बताएका छन्। संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमा छलफल गर्दै पौडेलले शिक्षकलाई खुसी बनाएपछि मात्रै शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताएका हुन्।

‘शिक्षक बेखुसी नहुने गरी अहिलेका समस्याहरू हल गर्नुपर्छ। शिक्षकले जो मन्त्री आए माग लिएर जानुपर्ने अवस्था छ’ उनले भने।  ऐनका कारण पढाउन नरोकिएको बताउँदै ऐनका कारण काम गर्न नसकिएको भन्ने कुरा राम्रो नभएको बताए।

अहिले विद्यमान ईसीडी, विद्यालय कर्मचारी, विभिन्न खालका शिक्षक लगायतका समस्या देखिएको बताउँदै त्यसको समाधानका लागि मन्त्रालयले लाग्नुपर्ने बताए। कानुनी रूपका मात्रै नभई प्रणालीगत रूपमा समेत सुधार गर्नुपर्ने उनको भनाइ थियो।

विद्यालय शिक्षा विधेयकमा दफावार छलफल गर्दा सबैलाई एउटै घानमा हालेर टुङ्गो लगाउन नहुने उनले बताए। त्यसका लागि कम विवादमा रहेका विषय टुङ्गो लगाउने र बढी विवादका विषयमा राजनीतिक सहमतिका आधारमा अघि बढ्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस