मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, १९ मंसिर २०८१, १५ : ४७
मुलुकमा फेरि नयाँ क्रान्ति आवश्यक भएको छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्  । गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै प्रचण्डले देशमा फेरि एकपटक नयाँ क्रान्तिको आवश्यकता भएको बताएका हुन् ।

'उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ तर, यसलाई प्रतिक्रियावादीहरूले आफूले चाहेजस्तो बनाउन खोज्ने छन्, हामी हामीले चाहेजस्तो बनाउन खोज्ने छौं, त्यो बेला फेरि जनताको गणतन्त्रका लागि अर्को संघर्ष आवश्यक पर्न सक्छ भनेका थियौं, त्यो विन्दु अब नजिक आएको छ', प्रचण्डले भने ।

 

 

 

 

उनले अब हुने क्रान्ति पहिलेजस्तो सशस्त्र नहुने बरु जनतामा गएर जनताकै बलमा भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन अघि बढाउने बताए । लाखौं लाख जनता सडकमा लिएर हिजो संविधान लेखनको क्रममा फरक मतको रूपमा छाडेका मुद्दा अघि बढाइने र गणतन्त्रलाई जनताको व्यवस्था बनाउने अभियानलाई पूर्णता दिइने प्रचण्डको भनाइ छ ।

नयाँ क्रान्तिका लागि विभाजित माओवादीलाई एकताबद्ध गर्दै माओवादीको आफ्नै एजेन्डा र पहिचानमा अघि बढ्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तहको उपनिर्वाचनमा एक्लै विजय प्राप्त गरेर त्यसको शुरूआत गरिसकेको बताए । 

 

 

नेपालमा जनताले दश वर्षे 'जनयुद्ध' नगरेको भए गणतन्त्र स्थापनाको कल्पनासमेत गर्न नसकिने उल्लेख गर्दै प्रचण्डले जनताको तर्फबाट यति धेरै सङ्गठित र व्यवस्थित रूपमा आजसम्म नेपालमा कुनै युद्ध नभएको दाबी गरे । उनले इतिहासको सम्मानका लागि नयाँ संस्कारको थालनी गरेकोमा आयोजकलाई धन्यवाद दिए । यस्तो कार्यक्रम राज्यले गर्ने परम्पराको पनि थालनी गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वउपराष्ट्रपति एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमान्डर नन्दबहादुर पुन पासाङले माओवादी, जनयुद्ध, जनमुक्ति सेना र जनताको कारण गणतन्त्र आएको हो भन्ने नेपाली इतिहासमा स्वर्णिम अक्षरमा लेखिएको बताए । गणतन्त्रका उपलब्धि रक्षा गर्दै फेरि पनि प्रचण्डको  नेतृत्वमा  समाजवादी अभियान अघि बढानुपर्ने पुनको भनाइ छ । 

माओवादी केन्द्रका उपमहासचिव एवं तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनयुद्धको थालनी र सञ्चालन हुँदै गणतन्त्र स्थापनाको मुख्य श्रेय अध्यक्ष प्रचण्डलाई जाने बताए । उनले जनयुद्धको कथा लेख्न बाँकी रहेकाले यसमा सबै यौद्धाहरूले ध्यान दिनुपर्ने बताए । 

अर्का डेपुटी कमान्डर चक्रपाणि खनाल बलदेवले अध्यक्ष प्रचण्डको सफल नेतृत्वका कारण जनयुद्ध सफल भएको र गणतन्त्र सम्भव भएको उल्लेख गरे ।` 

प्रतिक्रिया दिनुहोस