काठमाडौँ । बीआरआईमा अनुदान लिने तर ऋणका रूपमा भने स्वीकार नगर्ने काँग्रेसको औपचारिक निर्णय रहेको गृहमन्त्री रमेश लेखकले प्रष्ट पारेका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले बीआरआई अन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा काँग्रेस र एमालेका फरक फरक मान्यताहरू देखिएका भए पनि दुवै दलबीच हुने समझदारीका आधारमा अघि बढ्ने बताए ।
‘काँग्रेसले त ऋणका रूपमा नलिने भनेर यसअघि नै निर्णय गरिसकेका छ । एमालेले पनि ऋणका रूपमा भए पनि लिनुपर्छ नै त भनेको छैन,’ मन्त्री लेखकले भने, ‘दुवै दलबीच छलफल चलिरहेको छ । हामी साझा धारणा निर्माण गर्छौ ।’
मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा गृहमन्त्री लेखकले मन्त्रिपरिषदमा हेरफेरको कुरा आजसम्म नचलेको जिकिर गरे । ‘हामी प्रधानमन्त्रीय प्रणालीमा छौँ । प्रधानमन्त्रीले जुनसुकै बेला मन्त्री हेरफेर गर्न सक्ने कुरा हुन्छ । तर आजको समयसम्म त्यसबारे कुनै कुरा उठेको छैन ।’
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताए । ०८४ को निर्वाचनसम्म काँग्रेस एमालेको वर्तमान गठबन्धन कायम रहनेमा कुनै शंका नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ मंसिर २०८१, १२ : ५०
लेखकबाट थप