थारु महिलाले काठमाडौंमा मनाए समाचकेवा पर्व

सफल खबर संवाददाता

शनिबार, ०१ मंसिर २०८१, ११ : १९
थारु महिलाले काठमाडौंमा मनाए समाचकेवा पर्व

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।

थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु भसा साहित्य केन्द्रके अध्यक्ष भुलाई चौधरीले बताए ।

‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराईको संस्कृतिमाथिको अपमान हो,’ उनले भने ।

उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरे ।

उनले भने, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’ थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भने, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’

प्रतिक्रिया दिनुहोस