सेवाग्राहीको भीड व्यवस्थापन गर्न ४१५ सहसचिव र उपसचिव पदमा नियुक्ति गर्दैछौँ : मन्त्री गुप्ता

सफल खबर संवाददाता

बुधबार, २८ कार्तिक २०८१, १६ : ०८
सेवाग्राहीको भीड व्यवस्थापन गर्न ४१५ सहसचिव र उपसचिव पदमा नियुक्ति गर्दैछौँ : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले सेवाग्राहीको भीड व्यवस्थापन र सेवा प्रवाहमा सुधार ल्याउन ४१५ सहसचिव र उपसचिवको पदपूर्ति गर्न लागिएको जानकारी दिएका छन्। 

उनले सरकारी कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड हुने अवस्था र कर्मचारी अभावले सेवा प्रवाहमा बाधा पुगेको स्विकार्दै, यसलाई समाधान गर्न मन्त्रालयले ठोस कदम चालिरहेको बताए।

मन्त्री गुप्ताका अनुसार तीनवटै तहमा पर्याप्त जनशक्ति पूर्ति गर्न चुनौती भए पनि व्यवस्थापन तहमा कर्मचारी अभाव हुन नदिने लक्ष्यका साथ राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) तहका ४१५ पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ। यसका लागि लोकसेवा आयोगमा पदपूर्तिको माग पठाइसकिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको अत्यधिक भिड हुने कार्यालयहरू, जस्तै जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत कार्यालय, र राहदानी विभागमा आवश्यक कर्मचारी खटाउने कार्य गर्दै आएको छ,मन्त्री गुप्ताले भने। उनले मन्त्रालयमा भएका उपलब्ध कर्मचारीलाई अत्यधिक भीड हुने कार्यालयमा पठाएर सेवा प्रवाहलाई सहज बनाउन प्रयासरत रहेको जानकारी दिए।

यसै सन्दर्भमा, मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रशासनिक संरचनामा सुधार गर्दै आएको छ। मन्त्री गुप्ताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मार्फत संघीय कार्यालयहरूमा २१० वटा दरबन्दी कटौती गरिएको र आवश्यकता अनुसार कार्य बोझका आधारमा समायोजन गरिएको जानकारी गराए।

उनका अनुसार, उच्च व्यवस्थापन तहमा नेतृत्व विकासमा सहयोग पुर्‍याउन २५ जना सहसचिवलाई तालिम दिइएको छ। मन्त्री गुप्ताले कर्मचारीको क्षमता विकास र व्यवस्थापनमा मन्त्रालय सक्रिय रहेको बताउँदै, सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सरकारले कर्मचारी व्यवस्थापनमा ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरे।

सरकारी सेवा प्रवाहलाई व्यवस्थित बनाउन र सेवाग्राहीको समस्या समाधान गर्न आगामी दिनमा मन्त्रालयले थप सुधारात्मक कदम चाल्ने योजना बनाएको पनि मन्त्री गुप्ताले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस