अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजानको बाकु आइपुगेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप-२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज यहाँ आइपुगेका हुन् ।
उनलाई यहाँस्थित हैदर अलियभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजान सरकारका न्यायमन्त्री फारिद तरुव अहमदोभलगायतका उच्च पदस्थ पदाधिकारीहरूले स्वागत गरे ।सो भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, राष्ट्रपतिका विज्ञ/सल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता छ । भ्रमण दलका सदस्य वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही भने यसअघि नै बाकु आइपुगेका छन् ।
कोप-२९ अन्तर्गतको सम्मेलनमा राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन यही कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने कार्यसूची छ ।
बढ्दो जलवायु चुनौतीको सम्बोधन गर्ने उद्देश्यले बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन-कोप-२९) सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ कार्तिक २०८१, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वनमन्त्री शाही कोप–२९ मा भाग लिन अजरबैजान प्रस्थान
अजरबैजान जाँदै राष्ट्रपति पौडेल