तिहारमा सिन्कामारी रोटी बेचेरै २ लाखसम्म आम्दानी

सफल खबर संवाददाता

मंगलबार, १३ कार्तिक २०८१, ११ : २१
तिहारमा सिन्कामारी रोटी बेचेरै २ लाखसम्म आम्दानी

दाङ। घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त छिन् ।उनले विगत दुई वर्षदेखि तिहारलक्षित सिन्कामारी रोटी बिक्री गर्दै आएकी छन् ।

विशेषगरी तिहारमा खाइने सिन्कामारी रोटी हिजोआज घोराही बजारसँगै नजिकका गाउँमा समेत बिक्री हुने गरेको छ । उनी रोटी डोकोमा बोकेर बिक्री गर्दै हिँड्छिन् ।“खाली समय बसेरै खेर फाल्नुभन्दा व्यवसाय पनि भएको छ, अनि समयको सदुपयोग पनि”, उनले भनिन्, “तिहारलाई लक्षित यो व्यवसायबाट हुने आम्दानीले सन्तुष्ट छु ।

गत वर्षको तिहारमा मात्र तीन दिदीबहिनी मिलेर दुई लाखभन्दा बढीको रोटी बिक्री गरेको बुढाले बताइन् । यो वर्ष अझ धेरै आम्दानी गर्ने उनको लक्ष्य छ ।केही दिनयता दैनिक सातदेखि आठ हजारसम्मको रोटी बिक्री गर्दै आएको उनले बताइन् ।

हेर्दा आकर्षक, खानलाई स्वादिलो, सजिलो तथा तयारी खाजाका रूपमा प्रयोग गर्न सकिने भएकाले चाडपर्वको समयमा सिन्कामारी रोटीको धेरै खपत हुनेगर्छ ।यो रोटी चामलको पिठो पकाएर त्यसलाई मेसिनमा पेलेर बनाउने गरिन्छ । बनाउन झन्झटिलो भए पनि सिन्कामारीको व्यापार राम्रो रहेको उनको अनुभव छ ।

कतिपय ग्राहक घरमै किन्न आउने भएकाले बजारको समस्या नभएको उनको भनाइ छ ।उनले एक दर्जन रोटी २ सय ५० का दरले बिक्री गर्दै आएकी छन् । उनीसँगै जिल्लामा तिहारलक्षित सिन्कामारी रोटी बनाएर बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस