सरकारविरुद्ध काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस (फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०८१, १२ : १७
सरकारविरुद्ध काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस (फोटोफिचर)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस जारी छ । भ्रष्टाचार  र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको हो । 

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेन्डा रहेको छ ।

सतहमा आएका ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । आक्रामक रूपमा सडकमा उत्रिएको हो।