देशलाई पछाडि फर्काउने दुस्साहस नगर्न कांग्रेस-एमालेलाई विप्लवको चेतावनी

सफल खबर संवाददाता

शनिबार, ०३ कार्तिक २०८१, १४ : २०
देशलाई पछाडि फर्काउने दुस्साहस नगर्न कांग्रेस-एमालेलाई विप्लवको चेतावनी

चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले देशलाई पछाडि फर्काउने दुस्साहस नगर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लाई चेतावनी दिएका छन् । आज (शनिबार) चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत देशलाई २०४७ सालतिर फर्काउने कोशिस नगर्न भनेका हुन् । ‘विभिन्न खालका चर्चा छन्, यहाँ पछाडि फर्किने । २०४७ साल जन्माउने, यथास्थितिको अवस्था ठीक हो । यो कुरा सही होईन । पछाडि फर्किने दुस्शाहस कसैले नगरे हुन्छ,’– उनले भने ।

साथै, अहिले नेपालको राज्यसत्ता किसान, मजदुर, युवाहरु कसैको हातमा नरहेको उनले बताए । नेता विप्लवले किसान, मजदुर, युवाहरुका विरोधीहरुले राज्यसत्ता कब्जा गर्ने प्रयास गरेको उनले बताए । ‘आज नेपालको राज्यसत्तालाई कसले कब्जा गरेको छ ? किसानहरुको हातमा छैन, मजदुरहरुको हातमा छैन, युवाहरुको हातमा छैन । महिला दिदी बहिनी, मधेशी, पहाडीको हातमा छैन । तिनीहरुका विरोधीहरुले राज्यसत्ता कब्जा गर्ने दुस्साहस गर्दैछन्,’– उनले भने ।

साथै, उनले माओवादीलाई होच्याउने र आक्षेप लगाउने काम नगर्नसमेत चेतावनी दिए । उनले माओवादी एकतावद्ध भएको खण्डमा पुनः २०४७ साल जन्मिने उनको चेतावनी छ । ‘यो कुरा हामीले राम्रोसँग ब्ुझ्नुपर्छ । आजको दिनमा हामीले बुझ्ने कुरा के हो भने माओवादीलाई एकले अर्कोलाई होच्याउने र आक्षेप लगाउने होईन । यो एकतावद्ध हुन्छ, यो एकतावद्ध भयो भने अर्को २०६४ साल जन्मिन्छ । २०५२ साल त अहिले नभनौं तर ०६४ साल जन्मिन्छ नेपालमा,’– उनले भने ।

 

प्रतिक्रिया दिनुहोस