बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

सफल खबर संवाददाता

मंगलबार, २२ असोज २०८१, ११ : ०७
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताए ।

भारतको नयाँदिल्लीमा सञ्चालित दक्षिण एसिया क्षेत्रको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, ‘दक्षिण एसिया जनसांख्यिक हिसाबले पनि जोखिम क्षेत्रमा छ । स्रोत अभावमा साझा स्वास्थ्य समस्यासँग लड्न समस्या देखिएको छ ।’

मन्त्री पौडेलले नेपालको समस्या पनि दक्षिण एसियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि पनि लाग्ने प्रतिबद्धता जनाए । ‘हामी हाम्रा देशका स्वास्थ्य संकटसँग लड्न आफैं पनि स्रोत बढाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।

संगठन सदस्य रहेका दक्षिणपूर्वी एसियाली राष्ट्रका स्वास्थ्य मन्त्री र संगठनका उच्च अधिकारी बैठकमा उनले सबै सदस्य राष्ट्रहरुले आन्तरिक स्रोत थप गर्नुपर्ने बताए । बैठकका क्रममा मन्त्री पौडेलले संगठनका दक्षिणपूर्वी एसिया निर्देशक सइमा वाजेदसँग भेट वार्ता गरेका थिए । त्यसक्रममा मन्त्री पौडेलले नेपाल स्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन लागि परेको भन्दै संगठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गरेको बताए ।

 

प्रतिक्रिया दिनुहोस