कार र मोटरसाइकल ठोक्किए, प्रहरी जवानको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २१ असोज २०८१, ०७ : ३७
कार र मोटरसाइकल ठोक्किए, प्रहरी जवानको मृत्यु

बिराटनगर । कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा नेपाल प्रहरीका जवानको मृत्यु भएको छ । 

आइतबार साँझ मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक दुर्घटना हुँदा ३२ वर्षीय प्रहरी जवान चित्रसागर राईको मृत्यु भएको हो । राई मोटरसाइकलमा सवार थिए ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । 

जोशीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । 

अस्पताल पुर्याउनासाथ चिकित्सकले राईलाई मृत घोषित गरेका हुन् । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । 

प्रहरीले कार र त्यसका चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस