पाटन(ललितपुर) । गृह मन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका हुन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरूको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए ।
“सरकारले यो समस्यालाई गम्भीर रूपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहत सामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ”, गृह मन्त्री लेखकले, “क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ”, उनले भने । उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए ।
गृह मन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए ।
यसैक्रममा उनले पहिरोले क्षति पुर्याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई रु दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइने जानकारी गराए ।
निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० असोज २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्रीद्वारा नेकपा एसको कार्यालय निरीक्षण
तीनकुने क्षेत्रको अनुगमनमा गृहमन्त्री लेखक
९० वर्षभन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने
गृहमन्त्रीको प्रश्न– पूर्वविशिष्टलाई कानून नबनाई सुविधा दिने कि संसदबाटै नदिने निर्णय गर्ने ?
विपद् व्यवस्थापनको अधिकार प्रदेशलाई दिइसक्यौँ : गृहमन्त्री लेखक
गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा हौसिन आवश्यक छैनः गृहमन्त्री लेखक