सिड्नीमा गुञ्जिँए रामकृष्ण

सफल खबर संवाददाता

आइतबार, १३ असोज २०८१, १४ : ४८
सिड्नीमा गुञ्जिँए रामकृष्ण

काठमाडौँ । गायक रामकृष्ण ढकालले ‘रामकृष्ण ढकाल अष्ट्रेलिया टुर’ नामक साङ्गीतिक भ्रमणको सुरुआत अष्ट्रेलियाको प्रमुख सहर सिड्नीबाट गरेका छन् । शनिवार बेलुकी सिड्नीस्थित रगडेलमा रहेको इन्द्रेणी फन्सन सेन्टरमा उनले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरे । ‘बिहान उठ्ने वितिकै’ गीत गाउँदै स्टेजमा देखिएका गायक ढकालले आफ्नो चर्चित गीतहरू ‘बाचुन जेलिलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’’ लगायतका गीत प्रस्तुत गरेका थिए ।

उनले स्वरसम्राट नारायण गोपालका गीतहरू स्थानीय ब्याण्डसँग प्रस्तुत गर्दा उपस्थित दर्शकले प्रत्यक्ष नारायण गोपाल सुनेको प्रतिक्रिया दिए । अन्त्यमा उनले आफ्ना डान्सिङ नम्बर ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ् दिए । सन् २००९ देखि नै आफूले अष्ट्रेलियामा कन्सर्ट गरिरहेको र यो चौथोपटक रहेको गायक ढकालले बताए ।

‘अष्ट्रेलियामा मैले सधै मायाँ पाउनु गरेको छु, यसलाई धन्यवाद भन्ने म सँग शब्द छैन । मैले यहाँ ट्रयाक र ब्याण्ड गरी दुई चरणमा आफ्ना गीत प्रस्तुत गरँे । यसपटकको अष्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा म निकै उत्साहित छु’, उनले भने ।
 
कार्यक्रममा उनले नेपालमा लगातार परिरहेको पानीका कारण आएको बाढीपहिरो र त्यसबाट परेको असरबाट आफू पनि अछुतो नरहेको बताए । ‘एउटा कलाकारको धर्म नै उसको कर्म हो । नेपालमा एकजना गीतकार हुनुहुन्छ र उहाँको परिवारलाई म आफ्नो परिवार मान्छु । उहाँको घरकै गेटमा पहिरो परेर थुनिनुभएको छ, उद्दार कार्य भइरहेको छ । तर, म एउटा कलाकारको धर्म निर्वाह गर्न यहाँ स्टेजमा छु’, उनले भने ।
 
पाल्पा सर्भिसेसले आयोजना गरेको कार्यक्रममा गायक ढकालले तीन घण्टा आफ्नो गीतमार्फत उपस्थितलाई बाध्न सफल भए । आयोजक पाल्पा सर्भिसेसका अध्यक्ष दिनेश श्रेष्ठले कार्यक्रम भव्य र सभ्य रुपमा सफल भएको बताए ।
 
उनले भने,‘गायक ढकाललाई प्रत्यक्ष सुन्न सिड्नीवासी अधैर्य थिए, उनीहरूको उपस्थिति बाक्लो देखियो । उहाँलाई प्रत्यक्ष सुन्न् परिवारकै उपस्थिति देखिएको थियो, जहाँ बच्चादेखि वृद्धसम्म थिए । अर्थात् उहाँलाई सुन्न सवै वर्गका दर्शक देखिए ।’

गायक ढकालले यसपटकको दसैँ अष्ट्रेलियामै मनाउने भएकाले विभिन्न सहरमा आफू प्रस्तुत हुने बताए । उनले न्युक्यासल, एडिलेड लगायतका सहरमा आफ्नो प्रस्तुती तय भईसकेको जानकारी दिए । सोही कार्यक्रममा गायक ढकालले नेपाली सङ्गीतलाई विश्वभर चिनाउन गरेको योगदान र सङ्गीतमा दिएको निरन्तरताको कदर गर्दै आयोजक श्रेष्ठ, ए टू जेट क्लिनिङ सप्लाएर्स, क्लिनिङ् एण्ड हस्पिटालिटीका प्रमुख कृष्ण थापा र चलचित्र निर्माता सुभाष थापाले सम्मान गरेका थिए ।
 
उक्त अवसरमा गायक ढकालले आफ्नो गीत ‘जीवनको हिसाब’ वल्र्ड प्रिमियर गरे । कार्यक्रममा उपस्थित दर्शकलाई आफ्नो भिडियोको पहिलो दर्शक बनाएका ढकालले गीतमा आर्थिक अभावका कारण जीविकोपार्जनका निमित परदेशिन बाध्यभएका नेपालीको कथा प्रस्तुत गरिएको बताए ।
 
‘यस गीतमा अहिलेको समसामयिकता प्रस्तुत गरेका छौँ । विदेशमा रहेकाले यसको कुनै न कुनै पक्षसँग जोडिनु हुन्छ जस्तो लागेको छ । यसको शब्द भाव अनुसार नै भिडियोसमेत तयार गरेका छौँ’, उनले भने ।
 
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा मनोज खड्काको शब्द र डेनी निरौलाको सङ्गीत रहेको छ । धनेन्द्र रसाइलीको निर्देशनमा तयार भएको भिडियोमा दीलिप रायमाझी, सविना थपलिया, मनोज खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । यो कार्यक्रममा गोल्ड स्पोन्सरको रुपमा सर्च एजुकेसन र सिल्भर स्पोन्सरको रुपमा गोर्खाज सुपरमार्केट जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस