फागुन यता नयाँ सरकार गठन हुँदैन : वाणिज्यमन्त्री विश्वकर्मा

शनिबार, १५ पुस २०७४, १५ : १८
फागुन यता नयाँ सरकार गठन हुँदैन : वाणिज्यमन्त्री विश्वकर्मा

वाणिज्यमन्त्री मिन विश्वकर्माले नयाँ सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्ने भएकोले त्यसपछिमात्रै आफूहरुले सरकार छोड्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले भने 'राष्ट्रिय सभाको निर्वाचन नभएसम्म नयाँ सरकार गठनको लागि प्रक्रिया नै सुरु हँदैन ।

उनले भने,‘वाम गठबन्धनका साथीहरुले अबको १५ दिनभित्रै नयाँ सरकार बन्छ भन्नुभयो, उहाँहरुले बहुमत ल्याएकै दिनदेखि सरकार गठन गरिसक्नुभयो, तर निर्वाचन आयोगले दल दर्ताको लागि १५ दिनको समय तोक्छ, त्यसपछि एक महिनाभित्रै चुनाव सम्पन्न गर्नुपर्छ, हामी त आयोगलाई सहजीकरण गर्ने हो, यसरी हेर्दा सरकार गठनको लागि कम्तिमा पनि ६ हप्ता समय लाग्छ ।’ उनले आउने फागुण यता नयाँ सरकार नबने उनको भनाई थियो ।

उनले आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको स्पष्ट पारे । मन्त्री विश्वकर्माले थपे,‘कांग्रेस प्रतिपक्षमा बस्न तयार छ, हामी रचनात्मक भूमिका निर्वाह गर्छौं, संविधानको पूर्ण कार्यान्वयन र समावेशी–समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै अघि बढ्छौं ।’ उनले आफूहरु सरकारबाट छिटोभन्दा छिटो छोड्ने तयारीमा रहेको समेत उनको भनाई थियो ।

मन्त्री विश्वकर्माले वर्तमान सरकारले आयु लम्ब्याउन खोज्यो भनेर बाहिर हल्ला चलेकोप्रति टिप्पणी गर्दै भने,‘यो गलत हल्ला हो, यस्तो खाले टिकाटिप्पणीमा कुनै सत्यता छैन, हामी संवैधानिक बाटोहरु पहिल्याउँदै हिँड्छौं।’ उनले वाम गठबन्धनवीच सहकार्य र एकता होस् भन्ने आफूहरुको शुभकामना रहेको बताए । उनले युवा नेता गगन थापाले सभापतिविरुद्ध दिएको अभिव्यक्ति अहिले आएर सच्याउन थालेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस