जनार्दनको सन्दर्भलाई ‘बोल्ड’ गरेर माओवादीले पठायो दोस्रो सर्कुलर

सफल खबर संवाददाता

सोमबार, १७ भदौ २०८१, १९ : २९
जनार्दनको सन्दर्भलाई ‘बोल्ड’ गरेर माओवादीले पठायो दोस्रो सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रको केही दिनअघि सम्पन्न स्थायी समिति बैठकको निचोड पुनस् सर्कुलर गरिएको छ । यसअघि पनि परिपत्र गरिएकोमा बोल्ड गरिएका विषय पुनः थपेर पठाइएको हो ।

सर्कुलरमा पछिल्लो समयमा कतिपय सन्दर्भमा माओवादी पार्टी विभाजन हुँदैछ भनेर चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउने प्रचारमा कुनै सत्यता नरहेको भन्दै पार्टी एकताबद्ध रहेको तथा रही रहने उल्लेख छ ।

यसअघि पठाइएको सर्कुलरमा जनार्दनले पार्टी फुटाउँदै छ भन्ने भाष्य चिर्नको लागि प्रचण्डको सम्बोधनको सार संक्षेपमा बोल्ड गरेर ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदैछ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो, साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै बैठकको समापन गर्नुभयो’ भन्ने थप गरिएको छ ।

साथै पार्टीभित्र उठेका विषयहरूलाई केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने दस्ताबेजमा प्रचण्डले समावेशन गर्ने विश्वास दिएको विषयलाई पनि थप गरेर बोल्ड गरिएको छ । पार्टीले काँग्रेस र एमालेबीचको ७ बुँदै सहमति पश्चगामी र प्रतिगामी कदम भएको निष्कर्ष निकालेको छ । बैठकले संविधान संशोधन गर्ने नाममा मुलुकलाई २०४७ सालतिर फर्काउने संकेत देखिएको निचोड निकालेको छ ।

‘संविधान संशोधन गर्ने भनिएका विषय सुन्दा १० वर्षको जनयुद्ध र बृहत् शान्ति सम्झौता पछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक(समावेशी लगायतका उपलब्धिलाई उल्ट्याएर मुलुकलाई २०४७ साल तिर फर्काउने संकेत देखिन्छ ।’ समिति बैठक सकिए लगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले हस्ताक्षर गरेको परिपत्रमा भनिएको छ ।