सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने

पत्रपत्रिकाबाट

आइतबार, १६ भदौ २०८१, ०७ : ४४
सहकारीले श्वेतपत्र जारी गर्नुपर्ने

काठमाडौ । अब सहकारी संस्थाले संस्थामा आबद्ध सदस्यको पहुँच पुग्ने गरी श्वेतपत्र सार्वजनिक गर्नुपर्ने भएको छ । सङ्घीय सहकारी विभागले सबै सहकारी सङ्घसंस्थालाई श्वेतपत्र जारी गर्न निर्देशन दिएको छ ।

विभागले श्वेतपत्रको ढाँचासमेत सार्वजनिक गर्दै यस्तो निर्देशन दिएको हो । सहकारी संस्थाका सदस्यले संस्था नै नचिन्ने, संस्था नदेख्ने, सञ्चालकलाई पनि राम्ररी नचिन्ने अवस्थाले गर्दा सहकारीमा समस्या आएको आमगुनासोका आधारमा विभागले यस्तो व्यवस्था गरेको हो ।

सबै सहकारी सङ्घसंस्थाले अनिवार्य रूपमा विभागले उपलब्ध गराएको ढाँचाबमोजिम श्वेतपत्र तयार गर्नुपर्ने छ । आफ्ना सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट सार्वजनिक गर्न निर्देशनमा उल्लेख गरिएको छ । विभागले सबै सदस्यसमक्ष सहज रूपमा पहुँच पुग्ने गरी उपयुक्त माध्यमबाट श्वेतपत्र सार्वजनिक गर्न निर्देशन गरेको खबर गोरखापत्रमा छापिएको छ ।