जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी

सफल खबर संवाददाता

मंगलबार, ११ भदौ २०८१, १६ : ४३
जीवन विकास लघुवित्त वित्तीय संस्थामा तोडफोड र आगजनी

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।दिउँसो १२ बजेर ३० मिनेटमा सोही लघुवित्तबाट ऋण लिएका महिला सदस्यहरू १ सय ५० जना जति अचानक कार्यालय परिसरमा भेला भएका थिए ।

उनीहरूलाई सघाउन १०/१५ जना पुरुषहरू पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरू एक्कासि कार्यालयमा पसेर फाइल, कागजपत्रहरू माथिल्लो तलाबाट भुईँतर्फ हुर्‍याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।

नाम उल्लेख नगर्ने सर्तमा संस्थाका एक कर्मचारीले भने,‘तल बसेकाहरूले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएर मात्र छाडेनन् । कम्प्युटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरू फुटाए । इन्भर्टरका ब्याट्रीहरू क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बिच हातपात र घम्साघम्सी समेत भएको थियो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्की भन्छन्, ‘क्षतिको मूल्याङ्कन यकिन भएको छैन । घटनाको अनुसन्धान सुरु गरिएको छ । अहिलेसम्म कसैलाई पक्राउ गरिएको छैन । आगजनी र तोडफोडमा संलग्नहरूको पहिचान गरी खोजतलास सुरु गरिएको छ । 

लघुवित्त संस्थाहरूले चर्को व्याज लिएर शोषण गरेको भन्दै ऋण नतिर्ने र वित्तीय संस्थाहरूलाई कारबाही गर्ने अभियानीहरुले दबाब स्वरूप यस्तो हरकत गरेको हुन सक्ने स्थानीयहरूले बताए । 

प्रतिक्रिया दिनुहोस