गुरुङ समुदायमा तमु ल्होसारको रौनक

शनिबार, १५ पुस २०७४, १० : ३५
गुरुङ समुदायमा तमु ल्होसारको रौनक

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समाजका अध्यक्ष रेशम गुरुङले जानकारी दिए ।

“तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ” उनले भने, ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको अध्यक्ष गुरुङले बताए ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रम गरिने गुरुङ समाजले जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका शीर्ष नेताको सहभागिता रहनेछ ।

यसैबीच, प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले तमु ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमंग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले तमु ल्होसारजस्ता राष्ट्रिय पर्वले सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइबीच आपसी सद्भाव, बन्धुत्व र एकताको भावना वृद्धि गर्न मद्दत गर्ने उल्लेख गर्दै नेपालमा विविध जातजातिले मनाउने यस्ता चाडपर्वले विश्वमा नेपालको छुट्टै पहिचान बनाएको शुभकामना सन्देशमा जनाएका छ ।

एमाले अध्यक्ष ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा शुभकामना व्यक्त गर्दै एक जातिको चाडपर्वमा अर्को जातिले पनि रमाइलो गर्नु, ती चाडपर्व आफूले अंगीकार गर्नु नेपालीको मौलिक विशेषता भएको उल्लेख गरेका छन् ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक देश हो, गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्ष आरम्भ दिनका रुपमा समेत मनाउने गरेका छन् । यस समुदायको मौलिक नयाँ वर्षका रुपमा समेत सम्पूर्ण गुरुङ समुदायको सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस