पार्टीको आन्तरिक एकता बलियो बनाउन माओवादी नेतृत्वलाई आग्रह

सफल खबर संवाददाता

शुक्रबार, ०७ भदौ २०८१, २० : १२
पार्टीको आन्तरिक एकता बलियो बनाउन माओवादी नेतृत्वलाई आग्रह

काठमाडौँ । माओवादी केन्द्रीय सदस्य र जनवर्गीय संगठनका नेताहरुले माओवादीभित्र आन्तरिक एकता बलियो बनाएर जान नेतृत्वलाई आग्रह गरेका छन् ।

माओवादीको उपत्यका र समन्वय विशेष प्रदेशको परामर्श बैठकमा शुक्रबार सुझाव दिँदै नेताहरुले पार्टी सडकमा पुगेको बेला पार्टीको आन्तरिक एकता गरेर जान आग्रह गरेका हुन् । नेताहरू झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले अन्तर पार्टी संघर्ष चलिरहेको भन्दै आन्तरिक एकतामा जोड दिएका हुन् ।

बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मालगायत नेताहरुले लिखित र मौखिक मत राखेको उल्लेख गर्दै आवश्यक सुझावहरू समेटेर प्रतिवेदन बनाउने बताए ।

 ‘बैठकमा बसैले पनि फरक मत भनेर राखेको छैन । म आफैँले लिखित मत राखेको छैन,’ उनले भने, ‘प्रभाकर ९शर्मा० लगायत अरूले पनि लिखित मत राख्नु भएको छ । पार्टी बलियो बनाउन खुला छलफल भएको हो ।’

दाहालले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध काम गर्दा सरकारबाट निकाएको उल्लेख गर्दै आगामी दिनमा ती मुद्दा लिएर देशव्यापी अभियानमा जाने बताए । ‘हामीले भ्रष्टाचारविरुद्ध सुशासनको अभियानमा चलाउँदा सरकारबाट बाहिरिनु पर्‍यो । विजय भावमा बाहिर आएका छौँ, ‘उनले काँग्रेससँगको गठबन्धन नै ठिक भएको भन्दै अघि भने, ‘बरु शेरबहादुरजीसँग गठबन्धन जारी राख्नुपर्ने रहेछ । ओलीसँग ६/७ महिनादेखि संवाद थियो । पश्चिम बंगालजस्तो हुने भयौँ मिलौँ भनेपछि मैले पत्याउँदै गएँ । यसमा ओली इमान्दार देखिएनन् ।’

त्यतिबेला पनि बलियो आधार नभई ओलीसँग सहकार्य नगर्न कुरा उठे पनि आफूले वामपन्थी एकताका लागि ओलीसँग सहकार्य गरेको तर्क गरे । ‘अलि परैसम्म जाऔँ भनेर हो । गठबन्धन भन्दै एकतासम्म जान सकिन्छ । जनता र कार्यकर्ताको भावना त्यही छ । केही साथीहरूले भरपर्दो आधार नभई ओलीसँग मिल्न हुँदैन भन्नु भएको थियो । मेरो नियत सफा थियो, तर उनले छल गरे । इमान्दार देखिएनन् । उनलाई विश्वास गरेर गल्ती भयो ।’

उनले आफ्नो दल सरकारमा जान चासो नभएको बताए । ‘हामी सरकार बनाउने र भत्काउने खेलमा लाग्दैनौँ । पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने ध्यान हो ।’