ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

सफल खबर संवाददाता

आइतबार, ०२ भदौ २०८१, ०९ : ४७
ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

काठमाडौ । नेपालको एक मात्र सिकार आरक्ष बागलुङको  ढोरपाटनमा हरेक वर्ष जनैपूर्णिमामा ठूलो धार्मिक मेला लाग्छ।  यस वर्ष पनि मेला सुरु भएको छ। देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन्। 

एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ। ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ। 

रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो। 

बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ। 

जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधनको पनि चाप निकै हुन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन्। सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ। 

त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ। 

मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरी ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पुर्‍याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रूपमा सवारी साधन ओहोरदोहोर गर्छन्। 

जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत ९कल्याण०ले जानकारी दिए । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उनको भनाइ छ।