राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

शुक्रबार, १४ पुस २०७४, १९ : ५४
राष्ट्रियसभा सदस्य निर्वाचनको मिति चाँडै घोषणा गरिने

काठमाडौँ  । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन ।   
आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उहाँको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गर्नुभएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए  ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गर्नुभएपछि आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराउनुएको प्रवक्ता घिमिरेले जानकारी दिए  ।

प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र यसका पदाधिकारीलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका  थिए  । डा यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पु¥याएको सहयोगको सराहना गर्दै प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गरेका आयोगले जनाएको छ । भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह लगायत को उपस्थित  थियो । 

प्रतिक्रिया दिनुहोस