ओली भन्छन् : अध्यादेश असंबैधानिक, जारी प्रक्रिया संबैधानिक

शुक्रबार, १४ पुस २०७४, १६ : ४३
ओली भन्छन् : अध्यादेश असंबैधानिक, जारी प्रक्रिया संबैधानिक

चितवन । एमाले अध्यक्ष केपी ओलीले लामो विवादपछि जारी भएको अध्यादेशप्रति पहिलो प्रतिक्रिया दिदै अध्यादेशलाई असंबैधानिक तर जारी प्रक्रिया संबैधानिक भएको बताएका छन् ।

शुक्रबार एमाले पार्टी कार्यलय धुम्बाराहीमा भएको सहीद हरि नेपाल र चन्दक पुरीको ३८औं स्मृति सभालाई  सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपतिले चौतर्फी दवावका कारण जारी गरेको बताए । उनले भने ‘विवादित अध्यादेश जारी भएको छ । यो अध्यादेश कपटपुर्ण, षडयन्त्रपुर्ण र अलोकतान्त्रिक प्रक्रियाबाट संविधान विपरित आएको हो । तर, जारी प्रक्रिया चाहिँ संबैधानिक हो ।’

राष्ट्रपतिले चौतर्फी दवावका कारण अध्यादेश जारी भएको भन्दै उनले ‘कांग्रेस पार्टी आफ्नो स्वार्थअनुसार नहुँदा छिस्रिक्क पनि मर्यादामा नबस्ने’ पार्टी भएको आरोप लगाए । ‘राष्ट्रपतिले अध्यादेशबारे परामर्श गरिरहँदा केटाहरु सडकमा उफार्ने, आफुनिकट पत्रपत्रिकामा लेखाउने, राष्ट्रपतिलाई विवादमा तानेर अमर्यादित काम गराउन कांग्रेस लागिपर्यो ।’ उनले भने ।

ओलीले कांग्रेसले निर्वाचनमा हार्दा पनि सरकार छोडन नमानेको भन्दै ७० सालमा कांग्रेस ठुलो दल हुँदा आफुहरुले उसलाई सरकार चलाउन दिएको स्मरण गराए ।
‘कांग्रेसमा इमानजमान रहेन, बुर्जुवाहरुलाई लाजसरम हुँदैन भन्ने पुष्टि भयो । बुद्धिजीवीमा पनि लाजसरम रहेन’ ओलीले कांग्रेस, केही बुद्धिजीवी र सञ्चारमाध्यमामाथि पनि आक्रोश पोख्दै भने, ‘सञ्चारमाध्यमा रहेका कांग्रेस र कांग्रेसले चलाएका सञ्चारमाध्यमले लाजै नमानी केपी ओली र प्रचण्डलाई सत्तामा जाने लालच पलायो भनेर लेखे । चुनाव जितिसकेपछि पनि लालच पलाउनुपर्छ ?

प्रतिक्रिया दिनुहोस