राष्ट्रियसभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

सफल खबर संवाददाता

सोमबार, २१ साउन २०८१, १४ : ०४
राष्ट्रियसभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छन्। राजदूतका रुपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेकी वोल्कले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहाललको कार्यकक्षमै पुगेर भेट गरेकी हुन्।  

भेटमा अध्यक्ष दाहालले नेपाल र अस्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरेका थिए।   नेपाल र अस्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रुपमा पनि नजिक बनाउने बताए।  

विगतमा दुई देशबीच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधिमण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताए। नेपालको संघीय संसदले नेपाल(अस्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालको भनाइ थियो।  

दुई देशबीच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अष्ट्रेलियन सरकारले गरेको आर्थिक सहायता नेपालका लागि महत्वपूर्ण रहेको चर्चा अध्यक्ष दाहालले आगामी दिनहरुमा अझ निकट रहेर आर्थिक तथा विकास सहायतामा वृद्धि हुने विश्वास व्यक्त गरे।  

भेटमा राजदूत वोल्कले राजदूतको भूमिकामा नरहे पनि नेपालमा रहँदाका अनुभव र न्यानो माया स्मरण गर्दै आफू सधैं नेपालको सद्भावना दूतका रुपमा रहिरहने उल्लेख गरिन्।   

कोभिड, भूकम्पलगायतका विपद्का बेला एक आपसमा सहयोग गरेको स्मरण गर्दै उनले मानवीय सहायताका साथै विकास सहायताका रुपमा पनि अस्ट्रेलिया सधैं नेपालको साथमा रहने आश्वासन दिइन्।  

लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको संक्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरुबीच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै उनले दलहरुबीचको सहमतिले अब चाँडै शान्ति प्रक्रियाको सबै काम टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरिन्।