सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको 'निर्णायक बैठक'

सफल खबर संवाददाता

सोमबार, १४ साउन २०८१, ०८ : ५५
सिंहदरबारमा संक्रमणकालीन न्यायसम्बन्धी कार्यदलको 'निर्णायक बैठक'

काठमाडौ । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) टुंगो लगाउन गठित कार्यदलको बैठक बसिरहेको छ । गृहमन्त्री रमेश लेखकको कार्यकक्ष सिंहदरबारमा आज बिहानै कार्यदलको निर्णायक बैठक बसेको हो ।

यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकले टुंगो लाग्न बाँकी विषयमा निर्णय लिनुअघि सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको थियो । परामर्शपछि आज बैठक बसेको हो । 

टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको शुक्रबारको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । बैठकपछि कार्यदलका सदस्य जनार्दन शर्माले आफूहरू सहमतिनजिक पुगेको बताएका थिए ।

अब सरोकारवालासँग छलफल गरेर प्रतिवेदन तयार पार्ने उनको भनाइ थियो । 

यस्तै, कार्यदल संयोजक महेश बर्तौलाले पनि आफूहरू सैद्धान्तिकरूपमा सहमतिनजिक पुगेको बताएका थिए । त्यसैले आजको बैठकलाई निर्णयक मानिएको छ । 

कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट कार्यदलका गृहमन्त्री तथा कांग्रेस नेता लेखक, नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक बर्तौला र नेकपा माओवादी केन्द्रको तर्फबाट उपमहासचिव शर्मा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस