पर्वतको बानीडाँडामा बाढी, विद्यालय भवनमा क्षति

सफल खबर संवाददाता

बुधबार, ०९ साउन २०८१, ११ : १४
पर्वतको बानीडाँडामा बाढी,  विद्यालय भवनमा क्षति

पर्वत । जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन् भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।

पैंयुँ गाउँपालिका–५ का  वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । “खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उनले भने ।

भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उनले बताए । बाढीबाट भएको क्षतिको  गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।

यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ । 

प्रतिक्रिया दिनुहोस