नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : डा.बाबुराम भट्टराई

सफल खबर संवाददाता

शनिबार, ०५ साउन २०८१, १४ : ४९
नयाँ पार्टी खोल्दैमा वैकल्पिक बनिँदैन : डा.बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्षका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् । वैकल्पिक पार्टी बन्नका लागि  यसका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले भने, ‘पार्टी गठन गर्ने, दुई चारजना मान्छे जम्मा हुने, नेता हुने, एक खालको एजेन्डा उठाइदिने र आफूलाई वैकल्पिक भन्ने त्यस्तो होइन । वैकल्पिक भनेर त धेरै आउँछन् तर वास्तवमा वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जाने नै वैकल्पिक शक्ति बनेर आउँछ ।’

भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको जिकिर गरे । तर पुँजीवाद र उदारवादले व्यक्तिगत र निजी स्वतन्त्रता, बजार अर्थतन्त्रको नाममा समानता र भ्रातृत्वलाई बिर्सने र साथै कम्युनिस्टले समानताको नाममा वर्गीय समानताको मात्र कुरा गरेर भ्रातृत्व र स्वतन्त्रताको कुरा छाडिदिने गरेको टिप्पणी गरे । 

‘त्यो एकाङ्की भयो भन्ने मेरो बुझाइ हो । त्यसले केही समय काम गर्‍यो तर एक्काइसौँ शताब्दीमा यसले काम गर्दैन । नवउदारवाद र राज्य नियन्त्रित साम्यवाद असफलतातिर गएका छन्,’ उनले भने, ‘अब योभन्दा माथि जानुपर्छ । यी दुवैका नराम्रा पक्षलाई छाडेर, राम्रा कुरा मात्र लिएर नयाँ ढङ्गले अगाडि बढ्नुपर्छ भन्ने अब ‘न्यू इन्लाइटन्मेन्ट’ चाहिन्छ । स्वतन्त्रता, समानता र भ्रातृत्वको समुच्चता सहितको नयाँ विचार चाहिन्छ भन्ने बहस हो । यसलाई नै वैकल्पिक शक्ति भनेको हो ।’ 

संविधान जारी भएपछि पुँजीवादी क्रान्तिको एक चरण पूरा भएको र यसमा नै टेकेर अगाडि जानुपर्छ भन्ने विचार आफ्नो रहेको स्पष्ट पारे । ‘बाबुराम कसरी नयाँ हुन्छ भनेर पनि धेरैले प्रश्न गर्छन् । तर वैकल्पिक शक्ति आकाशबाट आउने होइन, विचारले नयाँ बन्ने हो,’ उनले भने ।

माओवादी छाडेर कम्युनिस्ट विरुद्धको हतियार पो बन्ने हो कि भन्ने घनश्याम भुसालको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हिजो शीतयुद्धमा अमेरिकाको गाली गर्नेलाई चीन र रुसले बढाइचढाइ गर्थे । चीन र रुसकाले उनीहरूले आलोचना गरे, तुरुन्तै नोबेल पुरस्कार दिन्थे । यसरी प्रयोग पनि हुन्थे । एक थरीलाई यस्तो आशङ्का पनि छ । अरूलाई भने छाडेर ठिकै गर्‍यो भन्छन् । दुवै गलत हो ।’

पुस्तकबारे चर्चा गर्दै डा। भट्टराईले शीर्षकले गर्दा बाबुरामको मात्र गुणगान गाएको हो कि जस्तो लाग्ने भए पनि पुस्तक त्यस्तो नभएको जिकिर गरे । ‘मलाई पनि शीर्षक अर्को राखिदिएको भए हुन्थ्यो कि जस्तो लागेको थियो । तर, कन्टेन्ट अलि फरक छ । यो बाबुराममा केन्द्रित, उसको गुणगानमा केन्द्रित यो छैन, भएको भए मलाई दुःख हुन्थ्यो ।’

‘म युरोपियन इन्लाइटनमेन्टकै विद्यार्थी हुँ । त्यसका तीनवटा हाँगा– लिबर्टी, इक्वालिटी र फ्याटर्निटीलाई समातेर नै अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्ने हुँ । फ्रान्सेली  दार्शनिकले भनेजस्तै – हे भगवान् मलाई मेरो साथीहरू बचाऊ, मेरा दुस्मनको सामना त म आफै गर्छु ।

बढी बिगार्नै आफ्नै आसेपासेले हो । तपाईं नै भगवान् हो, महान् हो भनेर । त्यस अर्थमा मुक्ति रिजालले पुस्तकमा आलोचनात्मक चेतले नै विषयवस्तु राख्नुभएको छ, यो प्रशंसनीय छ ।’  पुस्तकमा आफूले माओवादी आन्दोलनमा खेलेको भूमिका, माओवादी छाडेको कुरा र वैकल्पिक शक्ति अभियानमा जोडिएको विषयमा केन्द्रित रहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस