म्यानचेस्टर युनाइटेडले ६ करोड युरोभन्दा बढीमा भित्रायो १८ वर्षीय योरोलाई

सफल खबर संवाददाता

शुक्रबार, ०४ साउन २०८१, १० : ४७
म्यानचेस्टर युनाइटेडले ६ करोड युरोभन्दा बढीमा भित्रायो १८ वर्षीय योरोलाई

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले १८ वर्षीय फ्रान्सेली डिफेन्डर लेनी योरोलाई आबद्ध गरेको छ । यसअघि उनी फ्रान्सेली क्लब लिलीमा आबद्ध थिए । म्यानचेस्टर युनाइटेडले योरोका लागि ६ करोड २० लाख युरो खर्चिएको समाचारमा जनाइएको छ ।

म्यानचेस्टर युनाइटेड र योरोबिच सन् २०२९ सम्मका लागि सम्झौता भएको बताइएको छ । यी प्रतिभाशाली युवा खेलाडीलाई भित्राउन स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस क्लब लिभरपुलले पनि चासो देखाएका थिए ।

उनले अघिल्लो सिजन फ्रेन्च लिगमा ३२ खेल खेल्दै दुई गोल गरेका थिए । ‘विश्वकै उत्कृष्ट क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने मेरो निकै अघिदेखिको सपना थियो । आज मेरो त्यो इच्छा पुरा भएको छ । म निकै उत्साही छु,’ योरोले भनेका छन् ।

म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि उनले फ्रान्सेली क्लबबाट कुल ४४ खेल खेलेका थिए । फ्रान्सेली क्लबलाई युरोपा कनफरेन्स लिगको क्वार्टरफाइनलसम्म पु¥याउन पनि उनको महत्वपूर्ण योगदान रहेको थियो । उनी फ्रान्सको यू–२१ टोलीका सदस्य पनि हुन् । 

प्रतिक्रिया दिनुहोस