समाजमा दुर्व्यसन रोक्न रोनिक पाठक स्मृति ट्रष्ट स्थापना

शुक्रबार, १४ पुस २०७४, १२ : ०७
समाजमा दुर्व्यसन रोक्न रोनिक पाठक स्मृति ट्रष्ट स्थापना

भरतपुर । समाजमा हुने गरेको दुव्र्यसन रोक्नका लागि रोनिक पाठक स्मृति ट्रष्ट नेपालको स्थापना गरिएको छ । समाजमा हुने गरेका सामाजिक विकृति र विसंगतिसँगै दुव्र्यसन रोक्नका लागि ट्रष्ट स्थापना गरिएको ट्रष्टका संरक्षक जगतबहादुर पाठकले बताए । 

आफ्नो छोरा रोनिक समाज परिवर्तनका लागि क्रियाशील रहँदै गर्दा असामयिक निधन भएकोले उनको सपना साकार पार्न ट्रष्टको स्थापना गरिएको पाठकले बताए । अहिले १२ लाख रुपैयाँको अक्षयकोषबाट सुरु गरिएको ट्रष्टले गरीब तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्ति लगायत सामाजिक सेवाका काम गर्ने पाठकले बताउनु भयो । समाजसेवी तेजबहादुर कार्कीले उपलब्ध गराएको १० लाख र आफन्तबाट संकलित दुई लाख रुपैयाँबाट ट्रष्टको सुरुवात गरिएको हो ।

भरतपुरमा हालै एक समारोहबीच ट्रष्टको उद्घाटन गर्दै भारतीय महावाणिज्य दूत बीसी प्रधानले समाज परिवर्तनका लागि यस्ता संस्थाहरु चाहिने बताए । सामाजिक रुपमा परिवर्तनका लागि यस्ता संस्थाहरुले खेल्ने भूमिकाको विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णकुमार डल्लाकोटी, ट्रष्टका संरक्षक साध्यबहादुर भण्डारी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस