काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमुख सचिवसँग कार्य सम्पादन सम्झौता गरेका छन् । आर्थिक वर्ष २०८१-८२ को बजेट खर्चलाई प्रभावकारी बनाउन भन्दै उनले नयाँ आर्थिक वर्ष सुरु हुनु एक दिनअघि नै प्रमुख सचिव केदारनाथ शर्मासँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
आर्थिक वर्षको अन्तिममा मात्रै खर्च गर्ने परिपाटी अन्त्य गर्न आर्थिक वर्ष नलाग्दै सम्झौता गरेको मुख्यमन्त्री कार्कीले बताए । अब प्रदेश सरकारले साउनदेखि नै विकास कार्यक्रम कार्यान्वयनमा तीव्रता दिने उनको भनाइ छ ।
प्रदेश सरकारका सबै मन्त्रीहरूलाई राखेर मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री कार्कीले प्रमुख सचिव शर्मासँग कार्य सम्पादन सम्झौता गरेका थिए, लगत्तै शर्माले मुख्यमन्त्री कार्यालयका सचिव बद्री कार्की र विष्णुप्रसाद पौडेलसँग कार्य सम्पादन सम्झौता गरे ।
मुख्यमन्त्री कार्कीले साउन १५ भित्र सबै मन्त्रीलाई सचिवसँग र सचिवले मातहतका कार्यालय प्रमुख र महाशाखा प्रमुखसँग सम्झौता गर्नका लागि निर्देशन दिएका छन् ।१५ साउनभित्रै कार्य योजना बनाएर एक करोड रुपैयाँभन्दा माथिको योजना कार्यान्वयनमा लैजान निर्देशन पनि दिएका छन् ।
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम २५ दिनमा मात्रै ८ अर्ब १९ करोड ६९ लाख ६८ हजार ४४१ रुपैयाँ खर्च गरेको थियो । असार महिनाको अन्तिम २५ असारमा मात्रै दुई अर्ब ३० करोड ३५ लाख ८८ हजार ६ सय ८१ रुपैयाँ खर्च गरेको थियो । ३६ अर्ब ८१ करोड ९० लाख ७४ हजार रुपैयाँ बजेट विनियोजन गरेको सरकारले २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६ सय ४४ रुपैयाँ मात्रै खर्च गरेको थियो ।
आर्थिक वर्षको अन्तिममा खर्च गर्ने परिपाटीलाई अन्त्य गर्न साउनदेखि नै कार्य योजना बनाएर काम अघि बढेको मुख्यमन्त्री कार्कीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३२ असार २०८१, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो
कोशी प्रदेश सभाको बैठक बस्दै
कोशीमा सरकार पुनर्गठनको तयारी