वालेटलाई चुनौती दिँदै मोबाइल बैंकिङ, ११ महिनामा साढे ३ खर्बको कारोबार

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, १२ : ०३
वालेटलाई चुनौती दिँदै मोबाइल बैंकिङ, ११ महिनामा साढे ३ खर्बको कारोबार

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङ मार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो ।

यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ करोड ९० लाख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तसम्म २ करोड ३७ लाख ९७ हजार ६८० मोबाइल प्रयोगकर्ताहरू मार्फत ३ खर्ब ३६ अर्ब ५ करोड ८० लाख रुपैयाँ कारोबार (ट्रान्जेक्सन) भएको थियो ।

तथापि, यसै अवधिमा यता अन्य भुक्तानी साधनहरू वालेटहरूबाट भने जम्मा २९ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबरको मात्र भुक्तानी कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । यो २ करोड ३० लाख ३८ हजार २४० वालेट सेवा प्रयोगकर्ताहरूबाट भएको भुक्तानी कारोबार हो ।

तुलनात्मक रूपमा मोबाइल बैङ्किङ प्रयोगकर्ता र अन्य भुक्तानी साधन वालेट प्रयोगकर्ताहरूको सङ्ख्यामा केही हजारले मात्र तलमाथि भए पनि ठुलो भुक्तानी कारोबार भने मोबाइल बैङ्किङमार्फत नै हुने गरेको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैङ्कका अनुसार वालेटको तुलनामा झन्डै १२ गुणा बढी भुक्तानी कारोबार मोबाइल बैङ्किङमार्फत हुने गरेको छ ।

अन्य भुक्तानी साधनहरू

राष्ट्र बैङ्कका अनुसार सबैभन्दा बढी कनेक्ट आईपीएसमार्फत समीक्षा अवधिमा ५ खर्ब ६२ अर्ब ६१ करोड ८० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको छ । यसैगरी ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ५ खर्ब २४ अर्ब ९ करोड ८० लाख रुपैयाँ, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ३ खर्ब ४६ अर्ब १५ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् । 

यसैगरी एटीएम कार्डमार्फत ९१ अर्ब ९० लाख रुपैयाँ भुक्तानी कारोबार भएकोमा डेबिटकार्ड र क्रेडिटकार्ड मार्फत क्रमशः ९४ अर्ब ७८ करोड ३० लाख रुपैयाँ र २ अर्ब ३ करोड ५० लाख रुपैयाँ कारोबार भएका छन् ।  यसैगरी समीक्षा अवधिमा इन्टरनेट बैङ्किङ सेवामार्फत १६ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस