मुख्यमन्त्रीले माओवादी मन्त्रीको राजीनामा तत्काल नमाग्ने

सफल खबर संवाददाता

आइतबार, ३० असार २०८१, ११ : ५६
मुख्यमन्त्रीले माओवादी मन्त्रीको राजीनामा तत्काल नमाग्ने

विराटनगर । सङ्घीय सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकारबाट भने माओवादी केन्द्र तत्कालै नबाहिरिने सङ्केत देखिएको छ । गत वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादीका तीन मन्त्री सहभागी छन् । जसमा भौतिक पूर्वाधार विकास मन्त्रीमा गणेश उप्रेती, स्वास्थ्य मन्त्रीमा राजेन्द्रकुमार कार्की, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर छन् ।

मुख्यमन्त्री कार्की माओवादीका मन्त्रीहरूसँग राजीनामा नमाग्ने मुडमा रहेको उनी निकट स्रोतले जनायो । ‘हामी राजीनामा माग्दैनौँ । राजनीति भनेको कहिले घाम कहिले छायाँ हो । सहकर्मी पार्टीहरूको विषयमा राजनीतिक व्यवहार गर्नुपर्छ,’ उक्त स्रोतले भन्यो, ‘तत्कालै उहाँहरूलाई हटाउने कुरा छैन । राजीनामा पनि माग्ने मुख्यमन्त्रीको मुड छैन ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि तत्कालै राजीनामा दिनुपर्ने परिस्थिति नबनेको बताए । ‘अहिलेसम्म मुख्यमन्त्रीज्यूले केही भन्नुभएको छैन। केही समय अगाडि कुरा गर्दा अहिले नै हतार नगर्नु भनेर उहाँले नै भन्नु भएको थियो । पछिल्लो परिस्थितिको विषयमा छलफल भएको छैन,’ आङ्बोले भने, ‘तत्कालै सरकार छोडिहाल्ने कुरा भएको छैन । हाम्रो पार्टीभित्र र एमालेसँग पनि कुराकानी भएको छैन ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने उपर्युक्त समयमा माओवादीका मन्त्रीहरूले राजीनामा दिने विश्वास व्यक्त गरे । ‘मुख्यमन्त्रीले आजै राजीनामा दिनू भनेर भन्नु भएको छैन । उहाँहरूले राष्ट्रिय परिस्थितिलाई हेरेर अनुकूल समयमा राजीनामा दिनुहोला,’ उनले भने ।केन्द्रमा भने कांग्रेस र एमाले मिलेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण हुने देखिएको छ ।

संविधानको धारा १६८ को उपधारा ५ को प्रयोग पनि दुई पटक भइसकेको कोशी प्रदेशमा कांग्रेस र एमाले मिल्दा पर्याप्त बहुमत पुग्छ । तर, डेढ वर्षको अन्तरालमा ६ वटा सरकार परिवर्तन भइसकेको भन्दै यहाँ सबै दल मिलेर प्रदेशलाई अगाडि बढाउनु पर्ने आवाज पनि उठिरहेको छ ।

अहिले कोशी प्रदेशमा सरकार बाहिर नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राप्रपा र जसपा छन् । माथिको समीकरण अनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै लिने बताइन्छ । त्यसो हुँदा कांग्रेसले आफूले पाउने मन्त्रालयको टुङ्गो लगाएर तत्कालै मन्त्री पठाउन चाहेको छ ।

कांग्रेसबाट मन्त्री बन्ने दौडमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सांसदहरू भीम पराजुली, अमृत अर्याल, भुपेन्द्र राई, डोल्मा तामाङलगायत रहेको स्रोतले दाबी गरेको छ ।