विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी स्पेन र फ्रान्सबिच उत्कृष्टताको लडाइँ

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, १६ : ५२
विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी स्पेन र फ्रान्सबिच उत्कृष्टताको लडाइँ

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा पहिलो सेमिफाइनल खेल बुधबार बिहान खेलिँदैछ । पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई महारथी स्पेन र फ्रान्स भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।फ्रान्स र स्पेन विश्व फुटबलका प्रभावशाली राष्ट्र हुन् । यी दुवै राष्ट्रले विश्वकपदेखि युरोकपसम्मको उपाधिको स्वाद चाखिसकेका छन् । जारी युरोकपमा पनि स्पेन र फ्रान्स दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ ।

विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी वरीयतामा पनि यी दुवै राष्ट्र लामो समयदेखि माथिल्लो १० स्थानभित्रै रहँदै आएका छन् । पछिल्लो फिफा वरीयतामा पनि फ्रान्स दोस्रो र स्पेन स्पेन आठौँ स्थानमा रहेका छन् ।

सेमिफाइनल यात्रा

जारी युरोकपमा यी दुवै टोली अपराजित रहँदै सेमिफाइनलसम्म पुगेका हुन् । स्पेन आफ्नो समूहको विजेता रहेको थियो । समूह ‘बी’ मा परेको स्पेनले तीनवटै खेलमा जित हात पारेको थियो । स्पेनले पहिलो खेलमा क्रोएसियालाई ३–० गोलले हराएको थियो ।आफ्नो दोस्रो खेलमा स्पेनले साबिक विजेता इटालीमाथि १–० गोलको जित हात पारेको थियो । तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो । समूहगत चरणमा स्पेनले पाँच गोल गर्‍यो भने एक गोल पनि खाएन ।

 

अर्कोतिर, फ्रान्स प्रारम्भिक चरणमा समूह ‘डी’ मा परेको थियो । फ्रान्स आफ्नो समूहको उप–विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो । फ्रान्सले आफूले खेलेको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । फ्रान्सले आफ्नो पहिलो खेलमा बलियो अस्ट्रियालाई १–० गोलले हराएको थियो । दोस्रो खेलमा फ्रान्सको टोली नेदरल्यान्ड्ससँग गोलरहित बराबरीमा रोकिएको थियो । तेस्रो खेलमा फ्रान्सलाई पोल्यान्डले १–१ गोलको बराबरीमा रोकेको थियो । 

 

समूहगत चरणमा फ्रान्सले दुई गोल गरेको थियो भने एक गोल खाएको थियो । प्रि–क्वार्टरफाइनल खेलमा स्पेनले जर्जियालाई ४–१ गोलले पराजित गरेको थियो । फ्रान्सले भने प्रि–क्वार्टरफाइनल खेलमा बलियो बेल्जियमलाई १–० गोलले हराएको थियो । यसैगरी प्रतियोगिताको क्वार्टरफाइनलमा स्पेनले प्रभावशाली प्रतिद्वन्द्वी जर्मनीलाई उसैको घरेलु मैदानमा अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो । फ्रान्सले भने क्वार्टरफाइनल खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले हराएको थियो ।

युरोकपमा उपलब्धि

युरोकपमा स्पेनको यो १२औँ सहभागिता हो । स्पेनले सन् १९६४ मा पहिलो पटक युरोकपमा भाग लिएको थियो । युरोकपको त्यो दोस्रो संस्करण थियो । युरोकपको सबैभन्दा बढी संस्करणमा सहभागिता जनाउने राष्ट्रको सूचिमा जर्मनीपछि स्पेन दोस्रो स्थानमा पर्छ । स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत संघलाई २–१ गोलले हराएको थियो। त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि चुमेको थियो ।

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा पनि युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो । यसका अतिरिक्त स्पेन सन् १९८४ मा पनि युरोकपको फाइनलमा पुगेको थियो । तर, त्यतिबेला फाइनलमा स्पेनको टोलीलाई फ्रान्सले २–० गोलले हराएको थियो । 

 

यसैगरी युरोकपमा फ्रान्सको यो ११औँ सहभागिता हो । सन् १९६० मा सम्पन्न पहिलो संस्करणमै फ्रान्सले युरोकपमा सहभागिता जनाएको थियो । फ्रान्स युरोकपको दुईपटकको विजेता पनि हो । फ्रान्सले सन् १९८४ मा पहिलो पटक युरोकपको उपाधि चुमेको थियो ।त्यतिबेला फ्रान्सले फाइनलमा बलियो प्रतिद्वन्द्वी स्पेनलाई नै २–० गोलले हराएको थियो । सन् २००० मा पनि फ्रान्सले युरोकपको उपाधि उचालेको थियो । त्यतिबेला फाइनलमा फ्रान्सले इटालीलाई पराजित गरेको थियो । 

 

फ्रान्सेली टोली सन् २०१६ मा पनि युरोकपको फाइनलसम्म पुगेको थियो । घरेलु मैदानमा आयोजित त्यो युरोकपको फाइनलमा भने फ्रान्सेली टोली पोर्चुगलसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो । त्यसअघि सन् १९६० मा सम्पन्न पहिलो संस्करणमा फ्रान्स चौथो भएको थियो । सन् १९९६ मा पनि फ्रान्सेली टोलीले चौथो स्थान हासिल गरेको थियो ।

विश्वकपका पूर्वविजेता

फ्रान्स र स्पेन दुवै राष्ट्रले विश्वकपको उपाधि पनि उचालिसकेका छन् । फ्रान्सेली टोलीले दुईपटक र स्पेनले एकपटक विश्वकपको उपाधि चुमेका छन् । फ्रान्सले सन् १९९८ र सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो ।सन् १९९८ को विश्वकपको फाइनलमा फ्रान्सले बलियो प्रतिद्वन्द्वी ब्राजिललाई ३–० गोलले हराएको थियो । सन् २०१८ को विश्वकपको फाइनलमा भने फ्रान्सेली टोलीले क्रोएसियामाथि ४–२ गोलको जित हासिल गरेको थियो । स्पेनिस टोलीले भने सन् २०१० मा विश्वकपको उपाधि उचालेको थियो । त्यतिबेला स्पेनले फाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको थियो ।

 

छनोट चरणमा अब्बल प्रदर्शन

जारी युरोकपको छनोट प्रतियोगितामा पनि यी दुवै टोलीको प्रदर्शन उत्कृष्ट थियो । छनोट चरणको प्रतियोगितामा स्पेन आफ्नो समूहको विजेता बन्दै युरोकपमा उपस्थित भएको हो । स्पेनले आफूले खेलेको आठमध्ये सात खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । स्पेनले कुल २५ गोल गरेको थियो भने केवल पाँच गोल खाएको थियो ।जारी युरोकपको छनोट प्रतियोगितामा फ्रान्स पनि आफ्नो समूहको विजेता बनेको थियो । फ्रान्स आफ्नो समूहमा अपराजित रहँदै युरोकपमा छनोट भएको हो । छनोट चरणमा खेलिएको आठमध्ये सात खेलमा विजयी भएको फ्रान्स एउटा खेलमा बराबरीमा रोकिएको थियो । फ्रान्सले विपक्षीको पोस्टमा २९ गोल गरेको थियो भने केवल तीन गोल खाएको थियो ।

सेमिफाइनलमा स्पेनका दुई खेलाडी अनुपस्थित

 

बलियो फ्रान्सविरुद्धको सेमिफाइनल खेलअघि स्पेन केही दबाबमा भने छ । स्पेनका दुई प्रभावशाली खेलाडी सेमिफाइनल खेलमा अनुपस्थित रहने छन् । डानी कार्भाहाल र रोविन ले नर्मान्डले दोहोरो पहेँलो कार्ड पाएका कारण सेमिफाइनल खेल गुमाउने भएका हुन् । 

डानी कार्भाहालले जर्मनीविरुद्धको क्वार्टरफाइनल खेलमा दुईवटा पहेँलो कार्ड पाएका थिए । रोविनले भने समूहगत चरणमा इटालीविरुद्ध पहिलो र क्वार्टरफाइनलमा जर्मनीविरुद्ध दोस्रो पहेँलो कार्ड पाएका थिए । जारी युरोकपमा स्पेनका लागि डानी ओल्मो र फाबियन रुइजले दुई–दुई गोल गरिसकेका छन् ।

 

यो मामलामा फ्रान्स भने केही भाग्यमानी देखिएको छ । स्पेनविरुद्धको सेमिफाइनल खेलमा फ्रान्सका सबै प्रभावशाली खेलाडी टोलीमा उपस्थित रहेन छन् । एड्रियन राबियोटले दोहोरो पहेँलो कार्ड पाएका कारण पोर्चुगलविरुद्धको क्वार्टरफाइनल खेल गुमाएका थिए । उनी सेमिफाइनल खेलमा भने उपस्थित रहने छन् । 

यसैगरी फ्रान्सका कप्तान किलियान एमबाप्पेले पोर्चुगलविरुद्धको क्वार्टरफाइनल खेलमा एउटा पहेँलो कार्ड पाएका थिए । तर, उनले सेमिफाइनल खेल भने गुमाउने छैनन् । यसका अतिरिक्त एन्टोइन ग्रिजम्यान, आउरेलिन र ओसमेन डेम्बेलले पनि सम्भावित जोखिममा थिए । तर, उनीहरूले पनि सेमिफाइनल खेल खेल्न पाउने छन् । 

१०२ वर्ष लामो इतिहास

विश्व फुटबलका यी दुई महारथीबिच हालसम्म कुल ३६ वटा अन्तर्राष्ट्रिय खेल खेलिएको छ । यो तथ्याङ्कमा फ्रान्सभन्दा स्पेन केही अगाडि देखिन्छ । स्पेनले हालसम्म १६ खेलमा फ्रान्सलाई पराजयको स्वाद चखाएको छ । १३ खेलमा भने फ्रान्सले स्पेनलाई पराजित गरेको छ । यी दुई टोलीबिचको सात खेल भने बराबरीमा सकिएको छ । 

स्पेन र फ्रान्सबिचको फुटबल इतिहास निकै लामो छ । निकै लामो समयदेखि यी दुवै राष्ट्र एक–अर्काका परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई राष्ट्रबिच एक सय दुई वर्षअघि पहिलो भिडन्त भएको थियो । फ्रान्स र स्पेनबिच सन् १९२२ को अप्रिल ३० मा पहिलो खेल खेलिएको थियो । 

त्यो खेलमा स्पेनले फ्रान्सलाई ४–० गोलले हराएको थियो । यी दुई राष्ट्रबिच अन्तिम भिडन्त सन् २०२१ को अक्टोबर १० तारिखमा भएको थियो । त्यो खेलमा भने फ्रान्सेली टोलीले स्पेनलाई २–१ गोलले हराएको थियो । 

 

मोराटाविरुद्ध एमबाप्पे

जारी युरोकपमा स्पेनिस टोली लुइस डे ला फुएन्टको प्रशिक्षकत्वमा रहेको छ । स्पेनिस टोलीमा एट्लेटिको म्याड्रिडका अल्भारो मोराटा (कप्तान), रियल म्याड्रिडका नाचो र डानी कार्भाहाल, आर्सनलका डेभिड राया (गोलरक्षक), बार्सिलोनाका फेरान टोरेस, पेड्री, फर्मिन लोपेज र लामिन यामललगायतका प्रभावशाली खेलाडी छन् । यसैगरी जारी युरोकपमा डिडियर डेसच्याम्पस फ्रान्सेली टोलीका प्रमुख प्रशिक्षक हुन् । फ्रान्सेली टोलीमा एन्टोइन ग्रिजम्यान, किलियान एमबाप्पे (कप्तान), ओसमान डेम्बेले, ब्राइस साम्बा (गोलरक्षक), ओलिभर गिरोडलगायतका चर्चित खेलाडी सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस