विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

सफल खबर संवाददाता

मंगलबार, २५ असार २०८१, ११ : ०८
विपद्का घटनामा कर्णालीमा ५ को मृत्यु, १७ घाइते

सुर्खेत । असार १ देखि २४ गतेसम्मको अवधिमा मनसुनजन्य विपद्का घटनामा परी कर्णाली प्रदेशमा ५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी, पहिरो, चट्याङलगायतका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार असार १७ गते जाजरकोटमा पहिरोले घर भत्किँदा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो । यस्तै शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलामा पानीको बहाव बढेसँगै बाढीले बगाउँदा सुर्खेतको सिम्ता गाउँपालिका–९, कि ७ वर्षीया मनिषा वादीको मृत्यु भयो । गाउँको कुदाल खोलामा आएको बाढीले उनलाई बगाएको थियो ।

यी दुई पछिल्ला घटनाहरू मात्रै हुन्, असार महिनाका २४ दिनमा (सोमबार बेलुका ५ बजेसम्म) प्रदेशभर १४२ वटा विपद्का घटनाहरू भएका छन् । उक्त घटनामा परी ५ जनाको मृत्यु र १७ जना घाइते भएका हुन् ।

यस्तै ७२ वटा पशु चौपायाको मृत्यु भएको छ भने १३४ वटा भौतिक पूर्वादारहरूमा क्षति पुगेको छ । भौतिक पूर्वादारहरूमा विशेगषरी शुक्रवारदेखिको निरन्तर वर्षापछि धेरै क्षति पुगेको देखिन्छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरीले प्रदेशभर ती घटनाहरूमा ५५० जना प्रहरी परिचालन गरिएको बताए । ‘विपद्का घटनाका लागि सम्पूर्ण प्रहरी ‘स्ट्यानवाइ’ नै हुन्छ,’ उनले भने, ‘अझ बढी जोखिम भएको ठाउँमा विशेषगरी निगरानी राख्ने गरी प्रहरी परिचालित छ ।’

प्रहरीका अनुसार उक्त अवधिका विपद्का घटनामा अनुमानित १ करोड ३६ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुसार कर्णालीमा पहिरो, बाढी, चट्याङ्ग जस्ता तीन वटै विपद्को जोखिम उच्च रहेको बताएको छ । 

यहाँको अधिकांश भू–भाग पहाडी क्षेत्र भएकाले यहाँ पहिरोको जोखिम सबैभन्दा बढी रहेको छ । कर्णालीमा यस वर्ष ५० हजार ४ सय ६४ जनसङ्ख्या मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्ने आकलन गरिएको छ । यस्तै विपद्बाट ११ हजार ५ सय ४८ घरधुरी प्रत्यक्ष प्रभावित हुने अनुमान छ ।

११ परिवारलाई सुरक्षित स्थानमा सारियो 

प्रहरीका अनुसार अविरल वर्षा भएसँगै पहिरोका कारण उच्च जोखिममा रहेका ११ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–१, च्याउपानीका ११ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।उनीहरु बसेको ठाउँ भूकम्पले गर्दा असुरक्षित थियो । केही मेदेगाउँको खुला चौर र अन्यलाई आफन्तकहाँ तत्कालका लागि बस्ने व्यवस्था मिलाएको जाजरकोट प्रहरीले जनाएको छ ।

पहिरोले मुख्य राजमार्ग प्रभावित, काठेपुल बग्यो

शुक्रवारदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोरका ठाउँ–ठाउँमा पहिरोले प्रभाव पारेको छ । राजमार्गमा गएका ठुलो पहिरोका कारण माथिल्लो कर्णालीको यातायातको सुविधा ठप्प भएको छ ।विशेषगरी कर्णाली राजमार्गका ठाउँ ठाउँ गएको पहिरोले सडकको बेहाल अवस्था छ । अस्तव्यस्त सडकका कारण सवारी साधनहरू बिच बाटोमा अलपत्र परेका छन् ।

राजमार्गको कालिकोट सडक खण्ड (दहिखोला–हुल्म) का विभिन्न ६ वटा ठाउँमा पहिरो गएको थियो । अझै पनि एस मोडको पहिरो पन्छाउने काम सकिएको छैन । भिरालो पहाडमा भएको सडकमा ठुलो पहिरो गएको कारण पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक पोषण थापाले रातोपाटीलाई बताए ।

पहिरोले माथिल्लो कर्णालीसँगको सवारी आवागमन रोकिएको छ । ‘एस मोडमा अहिले सडक डिभिजन कार्यालय जुम्लाका दुई वटा मेसिनले काम गरिरहेका छन्,’ उनले भने, ‘पहिरो मंगलबार पन्छाई सकेर सवारी सञ्चालन हुने छन् ।’ तर राजमार्गको गएको पहिरोले झन् जोखिम भने बढाइरहेको छ । 

यस्तै कर्णाली करिडोरका ठाउँ–ठाउँमा गएको पहिरो पनि पन्छाएर एकतर्फ बाटो सञ्चालन गर्ने काम भएको थापाले बताए । 

यस्तै अविरल वर्षाका कारण पानीको सतह बढेर हुम्लाको नाम्खा गाउँपालिका–१, हाप्का खोलामाथिको काठेपुल बाढीले बगाएको छ । उक्त पुल कर्णाली करिडोर अन्तर्गत पर्छ । पक्की पुल नहुँदा यहाँ काठेपुलको प्रयोगले नाम्खा र सिमिकोट गाउँपालिका जोडेको थियो । पुल बगेसँगै दुई पालिकाको सम्बन्ध टुटेको छ भने सवारी साधनहरू आउजाउ रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस