वुमन्स एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

सफल खबर संवाददाता

शनिबार, २२ असार २०८१, १६ : २४
वुमन्स एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय महिला क्रिकेट टिमलाई बिदाइ गरेको छ । श्रीलंकामा हुने एसीसी वुमन्स एसिया कप खेल्न जाने महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले बिदाइ गरेका हुन् ।

राखेप सदस्य सचिव घिसिङले गत वर्ष पुरुष क्रिकेट टिमले एसिया कप खेलेको र यस वर्ष त्यो निरन्तरता हुँदै महिला टिमले पनि खेल्न लागेको भन्दै शुभकामना दिए । घिसिङले क्रिकेटको घरेलु संरचनालाई अझ राम्राे बनाउँदै लैजानुपर्ने बताए ।

क्यानका सचिव खड्काले एसिया कप आफ्नो क्षमता देखाउनको लागि राम्रो प्ल्याटफर्म भएको बताए । ब्याट र बलको चुनाैतीलाई अवसरको रुपमा लिएर आफ्नो देशलाई कसरी जिताउने भन्ने सोच राखेर खेल्न उनले खेलाडीहरुलाई आग्रह गरे ।

महिला क्रिकेट टिम विगतदेखि प्राथमिकतामा पर्नुपर्ने जति नपरेको र अब महिला क्रिकेटलाई धेरै अवसर दिनुपर्ने सचिव खड्काले बताए । ‘वुमन्स क्रिकेट रिबिल्डिङ फेजमा छ । भारत र पाकिस्तानसँग सधैं खेल्न पाइँदैन । त्यसैले अवसरको सदुपयोग गर्नुहोस्’, उनले खेलाडीहरुलाई भने ।

प्रमुख प्रशिक्षक मनोज कटुवालले ४५ दिनको तयारी राम्रो भएको र सबैले मिहिनेत गरेको बताए । कप्तान इन्दु बर्माले पाएको समय र स्रोतअनुसार राम्रो तयारी गरेको बताइन् । मनसुनको समय भए पनि इनडोरमा तयारी राम्रो भएको उनको भनाइ छ ।

उनले श्रीलंका गएर अभ्यास खेलहरु समेत खेल्ने जानकारी दिइन् ।पुरुष टिमका कप्तान रोहित पाैडलले महिला टिमलाई शुभकामना दिँदै गत वर्ष आफूहरुले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको र त्यसबाट टिममा कन्फिडेन्स बढेको बताए ।

एसिया कपको एक्सपोजरले टी-२० विश्वकपमा सहज भएको भन्दै उनले महिला टिमलाई पनि एक्सपोजर लिन र खेलमा मौकाको सदुपयोग गर्न शुभकामना दिए । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोली एसिया कप खेल्न आइतबार श्रीलंका जानेछ । महिला एसिया कप १९ जुलाइबाट सुरु हुनेछ ।
नेपालले समूह चरणमा युएई, पाकिस्तान र भारतसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस