काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् । आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भए पनि संसद् नागरिकका ऐन, कानुन बनाउनतर्फ अहिले कतै न कतै चुकेको जिकिर गरेका हुन् ।
उनले सांसदहरूले निर्माण गर्ने ऐन, कानुनले नै देश कता जान्छ भन्ने कुराको निर्धारण हुने भन्दै सांसदहरू ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए । समयमा ऐन, कानुन निर्माण गर्न संसद्ले ध्यान नदिएकोतर्फ सचेत गराए ।
उनले भने, ‘नेपाल धनी संविधानमै छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरू हेर्ने हो भने धेरै संविधानहरू हामीले व्यहोर्यौँ । र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढङ्गले जो हामीले उत्कृष्ट र राम्रो पनि गर्यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ ।
संविधानलाई हेर्ने पनि सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ भन्ने लाग्छ मलाई । यो वर्गीय समाजमा आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । मुख्य कुरा संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्ने कुरा, सही र गलत भनेर प्रमाणित गर्ने कुरा त्यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा लिएका तपाईं हामी नै हौँ ।
हाम्रो सोच, कार्यशैली, कार्ययोजना र मुख्य गरी नेपाली जनताले अपेक्षा गरेको, चाहेको, खोजेको, हामी जिम्मा लिएर आएका जो नेपाली जनताको उत्कृष्ट थलो प्रतिनिधिको थलो भनेको संसद् हो ।
जो सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानुन कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्ने कुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छौँ । समयमा ऐन, कानुन निर्माण गर्न भ्याएका छैनौँ । गर्न सकेका छैनौँ । परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको सँगालो संसद् भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ।
अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको भूमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिङ्गो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताए । उनले सांसदहरूले देश र जनतालाई फाइदा हुने ढङ्गले सोच्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ असार २०८१, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दलित हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ : अध्यक्ष दाहाल
अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित
राष्ट्रियसभा अध्यक्ष दाहालसँग अस्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट
सत्मार्गमा हिँड्न प्रेरणा मिलोस् : अध्यक्ष दाहाल
बजेट र योजना नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउनुपर्छ : अध्यक्ष दाहाल