दाङको राजुपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण एक जना

रासस

शनिबार, १५ असार २०८१, १३ : ०२
दाङको राजुपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण एक जना

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका आठ  माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् । राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उनले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।  

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शङ्कर मावि खरदरियाबाट ४५ ,   माध्यमिक विद्यालय दुलैयाबाट नौ ,  बाल कल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।    

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए । “हामीले शिक्षामा धेरै लगानी गर्‍यौँ”, उनले भने  “तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।” आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस